मिथिलाञ्चल क्षेत्रमा मनाइने ‘जितिया पर्व’ अन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा ‘नहा खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरू अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।
श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्ग अनुसार मिथिलाञ्चल भरि नै सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया ब्रत र भोलि साँझ ५ बजे ब्रतपारण (समापन) विधि गरिन्छ । तिथि अनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत नहा खा विधि सम्पन्न भई आजदेखि उपवास बसेर भोली साँझ ब्रतसमापन गरिने परम्परा रहेको छ ।
ब्रतबस्नु अघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रूपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएपछि उनीहरूको ब्रत सुरु भएको हो । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको जानकारहरू बताउँछन् ।
ब्रतको पहिलो दिन सोमबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ । आज बिहानै काग कराउनुअघि नै बर्तालु महिला ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओँगठनपछि उपवासको क्रम सुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो ब्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व रहेको जानकारहरू बताउँछन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वास सहित महिलाले शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक कथन रहेको छ ।