चुनावी प्रतिस्पर्धामा रहेर पराजय भोगेका पर्यटन व्यवसायीहरु


टुरिजम पाना काठमाडौं । १५ मंसिर २०७९

गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चुनावी मैदानमा रहेका केहि पर्यटन व्यवसायीहरु निर्वाचित हुँदा केहीले भने पराजय भोगेका छन् । कतिपय नयाँ पार्टीबाट उम्मेदवार बनेका पर्यटन व्यवसायीले चुनावमा हार व्यहोरेतापनि प्रमुख राजनीतिक दलका उम्मेदवारलाई चुनौती भने दिए ।

गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालसँग दुई पर्यटन व्यवसायी चुनावी मैदानमा थिए । देशैभर लहर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी र राप्रपाका शुशील पन्तले दाहालसँग चुनाव लड्ने आट गरे । तर, उनीहरु दुबैजना पराजीत बने । यस क्षेत्रमा दाहालले निर्वाचन जित्दै गर्दा बुर्लाकोटी दोश्रो बने भने पन्त चौथो स्थानमा रहे ।

यस्तै नुवाकोट क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीसँग चुनावमा भिडे । चुनावमा असफल रहँदा रहँदै पाण्डेले १६ हजार ४ सय ७७ मत पाए भने चुनावमा विजयी भएका केसीले २८ हजार १ सय ७ मत पाए ।

चितवन क्षेत्र नं २ मा गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका पर्यटन व्यवसायी उमेश श्रेष्ठले पनि लज्जास्पद चुनाव हारे । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले पराजीत गरे । व्यवसायी श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाउँद लामिछानेले ४९ हजार २ सय ६४ मत पाए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमालेको तर्फबाट उम्मेदवार रहेका अर्का पर्यटन व्यवसायी हरिकृष्ण श्रेष्ठको पनि संसद यात्रामा पुर्णबिराम लाग्यो । श्रेष्ठलाई गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले हराए । श्रेष्ठले २० हजार १ सय ८९ मत पाउँदा गर्बुजाले २४ हजार २१ मत पाए ।

यता कास्की क्षेत्र नं २ बाट उम्मेदवार रहेका पर्यटन व्यवसायी सुवर्णराज पन्तले नेकपा एमालेबाट उम्मेदवार बनेकी पूर्व पर्यटनमन्त्री पत्नी विद्या भट्टराईसँग चुनाव लडेर पराजय भोगे । भट्टराई निर्वाचित हुँदा राप्रपाबाट उम्मेदवार रहेका पन्त चौथो स्थानमा रहे । भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा पन्तले ३ हजार ९ सय ९३ मत मात्र पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिन्धुपाल्चोक २ मा उम्मेदवार रहेकी माया गुरुङले चुनाव जित्न सकिनन् । उनी नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतसँग चुनावी प्रतिस्पर्धामा थिईन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत पाउँदा गुरुङ २ हजार ४ सय ५३ मतसहित तेश्रो स्थानमा रहिन् ।

१५ मंसिर २०७९