काठमाडौंमा अन्तर्राष्ट्रिय दिगो पर्वत विकास सम्मेलन शुरु


टुरिजम पाना काठमाडाैं । १५ मंसिर २०७९
फाइल तस्वीर

काठमाडौंमा अन्तर्राष्ट्रिय दिगो पर्वत विकास सम्मेलन बिहीबारदेखि शुरु भएको छ । तीन दिनसम्म हुने सम्मेलनमा पर्वतीय परिदृश्यको परिवर्तन र दिगो विकासबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपाल पर्यटन बोर्ड, जापानको होकाइदो विश्वविद्यालय, ग्लोबल ल्यान्ड प्रोग्राम, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कोलोराडो विश्वविद्यालयको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

भौतिक र सामाजिक अनुसन्धान विज्ञान, शिक्षा, विकास, कला, चलचित्र निर्माण, पर्यटन र संरक्षणलगायतका क्षेत्रमा विश्वव्यापी रूपमा प्रसिद्ध व्यक्तिहरुमार्फत् हिमाली जैविक विविधता संरक्षण, सांस्कृतिक संरक्षणका विषयलाई प्रकाशमा ल्याउनु सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलन चन्द्रागिरी हिल्समा हुनेछ ।

सम्मेलनमा कोलोराडो विश्वविद्यालयका प्रोफेसर अल्टोन सी बायर्स, आइयुसिएन विशेषज्ञ समूहका एडविन बर्नबम, धनन्जय रेग्मी, कविन्द्र भट्ट, सिताराम दाहाल, होकाइदो विश्वविद्यालयका हिरउ इयानलगायत व्यक्तिहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

१५ मंसिर २०७९