एभोकाडो एवं धनकुटा महोत्सव शुरु, ६० वर्ष पुरानो फोटो प्रदर्शनी


टुरिजम पाना काठमाडौं । ६ माघ २०७९

कृषि पर्यटनको हब धनकुटामा ‘एभोकाडो एवं धनकुटा महोत्सव’ शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा १० दिनसम्म सो महोत्सव चल्नेछ । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

६० वर्ष पुरानो फोटो प्रदर्शन

मेलामा साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ ।

विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो । ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो सङ्कलक सुरेन्द्र आठपहरियाले सङ्कलन गरेका हुन् ।

तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको छ ।

६ माघ २०७९