राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने भएको छ। नेपाल ट्रष्टका प्रवक्ता दिपकराज नेपालले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने विषयमा सैद्धान्तिक सहमति भएको जानकारी दिए।
तर बंगला कसरी खुलाउने, कसरी व्यवस्थापन र सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको उनले बताए।
‘भरतपुर महानगरपालिका-१ आँपटारीस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला दरवार तथा परिसर संग्रहालयको रूपमा सर्वसाधारणका लागि खुला गर्ने सम्बन्धमा सञ्चालनसम्बन्धी आवश्यक कार्यविधिको मस्यौदा तयार गर्ने र सोको लागि आवश्यक व्यवस्थापकीय तयारी गर्ने निर्णय भएको छ, उनले भने।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नेपालले भने, ‘पहिले व्यवस्थापकीय तयारी गरेपछि बल्ल कहिलेबाट खोल्ने, के खोल्ने, मोडालिटी कसरी जाने भन्ने पछि हुन्छ।’
यसअघि भरतपुर महानगरपालिकाले बंगला खुलाउन आग्रह गरेर नेपाल ट्रष्टलाई पत्राचार गरेको थियो। महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा घोषणा गरेको छ। महानगरले भ्रमण वर्षको अवसरमा बंगला खुलाउन आग्रह गरेको थियो।
ट्रष्टका प्रवक्ता नेपालले बंगलालाई कसरी खुला गर्ने भन्ने निर्णय हुन केही समय लाग्ने बताए। भरतपुर महानगरलाई चलाउन दिने वा ट्रष्ट आफैंले चलाउने भन्ने कुरा टुंगो लाग्नै बाँकी रहेको उनले बताए।
‘कार्यविधि बनेपछि हाम्रो सर्त र उहाँहरूको सर्त मिल्नुपर्यो। त्यसपछि बल्ल के गर्ने भन्ने निर्णय हुन्छ। अहिले त हामी एकदमै सुरूआती चरणमा छौं,’ उनले भने।
अब बंगला खुला गर्नका लागि व्यवस्थापकीय र सञ्चालनको कार्यविधिको मस्यौदा निर्माणको तयारी सुरू हुने नेपालले बताए।
नेपाल ट्रष्टको बुधबार बसेको ७८ औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।
तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे। अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी छन्। सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ।
दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ। कहिले विश्वविद्यालय, कहिले होटल खोल्ने विषयमा छलफल हुँदै आएको बंगला सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
विसं २०२६ मा निर्माण भएको सो बंगलामा राजा र राजपरिवारका सदस्य जाडो छल्न आउँथे। वन्यजन्तु सिकारका सौखिन महेन्द्र तराईमा सिकार गर्न आउँदा दियालो बंगलामा बस्थे।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन्। १ नम्बरको खोपी मुमा रत्नराज्य, २ नम्बरको राजा, ३ नम्बरको रानी, ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका लागि बनाइएको हो।
दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर पनि छ। साथै सो क्षेत्रमा ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल पनि छ।