अब फेवातालमा डुंगा सयर गर्दा चालक अनिवार्य

हावाहुरीका कारण साढे तीन बजेपछि चलाउन नपाइने


टुरिजम पाना काठमाडौं । २२ फाल्गुन २०७९
तस्वीर : मदन सिग्देल

पोखराको फेवातालमा अबदेखि डुंगा सयर गर्दा चालक अनिवार्य गरिएको छ। कास्की प्रशासनले यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने भन्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरेको हो ।

यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भएमा रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प्रशासनले चालक बिना डुंगा सयर गराउन नपाउने गरि कडाई गरेको छ। शनिबार दिँउसो हावाले एकैपरिवार सवार डुंगा फेवातालमा पल्टिएको थियो जसमा डुंगाले च्यापिएर पोखरा–१ बगरकी ७० वर्षिया याममाया गिरीको मृत्यु भएको थियो। ‘लाइफ ज्याकेट’ लगाएकोले दुर्घटनामा परेको एकै डुंगामा सवार अरु यात्रु भने सुरक्षित रहे।

आइतबार कास्की प्रशासनमा भएको छलफलमा अबदेखि चालकबिना डुंगा सयर गराउन नपाउने गरि कडाई गर्ने निर्णय भएको डुंगा व्यवसायी संघले जनाएको छ । यो सँगै चैतदेखि जेठसम्मको तीनमहिना अवधिका लागि चालकबिना यात्रुले मात्र डुंगा चलाउन नपाउने संघले बताएको छ ।

यस्तै अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा चलाउन नदिने निर्णय पनि भएको छ। दिउँसो साढे ३ बजेपछि पोखरामा दिनहँु जसो हावाहुरी चल्ने र पानी पर्ने भएकाले यस्तो निर्णय गरिएको बताईएको छ ।

२२ फाल्गुन २०७९