इजाजत बिनै चलेको थियो सुर्खेतमा ज्यानै जाने गरी सञ्चालनमा रहेको फनपार्क


गोविन्द मरासिनी सुर्खेत । २९ फाल्गुन २०७९

सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिले पर्यटन विभागबाट इजाजत नलिएको पाईएको छ ।

गत फागुन २४ गते सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

बञ्जी जम्पिङ, जिपलाइन, क्यानोनिङ, एम्युज्मेन्ट पार्क, मोटरबोट, जेटस्की लगायतका साहसिक तथा मनोरञ्जनात्मक गतिविधिहरु पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार इजाजत लिएर मात्र सञ्चालन गर्न पाईने प्रावधान रहेको भएपनि उक्त फनपार्क इजाजतबिनै सञ्चालन गरेको पर्यटन विभागले जनाएको हो ।

विभागका सूचना अधिकारी सुर्य प्रसाद अधिकारीले उक्त फनपार्क विभागको दर्ता गरिएको सूचीमा नभएको टुरिजमपानालाई बताए ।

घटना घटेपछि सामान्य सोधपुछका लागि पार्कका सञ्चालक कर्ण मगरलाई पक्राउ गरेर कसैले पनि उनको नाममा किटानी जाहेरी नपरेकोले छाडिएको र दर्ता हुनुपर्ने निकायमा दर्ता भए, नभएको हेरेर छानबिन गरेर थप कारवाहीको प्रक्रियामा जाने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले टुरिजमपानालाई जानकारी दिए ।

उनले टुरिजमपानासँग भने, ‘मापदण्ड अनुसार सबै प्रक्रिया पुरा गरेको भए उसको इन्सोरेन्स हुन्छ, क्षति हुँदा बिमामार्फत भुक्तानी गर्नुपर्ने हुन्छ त्यसमा लापरबाही नै हो कि भन्ने देखिन्छ यसमा अनुसन्धानपछि प्रक्रियामा जान्छौं ।’

यसै बिषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासँग टुरिजमपानाले राखेको जिज्ञासामा उद्योग दर्ता हुँदा के कसरी भएको थियो त्यस बिषयमा छानबिन पछि कानुन बमोजिम कारवाही हुने दाबी गरे ।

विभागबाट इजाजत नलिएको लगभग पुष्टि भईसक्यो के अब यो बन्द नै हुन्छ त भन्ने हाम्रो प्रश्नमा सापकोटाले भने, ‘महिले बन्द हुन्छ, खुला हुन्छ भन्न मिल्दैन् कुनै पनि इजाजत लिएर सञ्चालन गर्नुपर्ने व्यवसाय इजाजत नलिएको पाईएमा खोल्न वा सञ्चालन गर्न पाइन्न यदि सञ्चालन गरेको भए कानुनबमोजिम कारबाही हुन्छ ।’

हालसालै पर्यटन विभागले इजाजत बिना सञ्चालन भईरहेका त्यस्ता गतिविधिहरु बन्द गराउन सहजीकरणका साथै ७७ वटै जिल्लामा गृह मन्त्रालय मार्फत सर्कुलर गर्न पत्राचार गरेको थियो ।

यसरी विभागले मागेको सहजीकरणमा गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा इजाजत बिना सञ्चालन भईरहेका गतिविधि खोजी गरी बन्द गराउनका सर्कुलर जारी भईसकेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले बताए ।

त्यसै अनुरुप सुर्खेतमा प्रजिअ सापकोटाले गृह मन्त्रालयको पत्र समेत प्राप्त भईसकेको र अब जिल्लामा अन्य स्थानमा इजाजत नलिईकन सञ्चालन भएकाहरुलाई कारवाही गरिने बताए ।

यससम्बन्धी हाम्रा थप समाचारहरु :

अवैध साहसिक पर्यटकीय गतिविधिप्रति विभागको ‘एक्सन’, बन्द गराउन गृहसँग माग्यो सहयोग 

चितवनमा अवैध जिपलाइन सञ्चालनमा, प्रशासन किन मौन ?

२९ फाल्गुन २०७९