प्यूठानको मल्लरानीमा ‘जिपलाइन’


टुरिजम पाना संवाददाता स्वर्गद्वारी । १३ जेष्ठ २०८१

प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ सञ्चालनमा आएको छ ।

मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले एक करोड रुपैयाँ लगानीमा निर्माण गरेको यस जीपलाइन केही दिनमै औपचारिक उद्घाटन गर्ने तयारी भइरहकेको अध्यक्ष इमानसिंह भारतीले टुरिजमपानालाई जानकारी दिए ।

मल्लरानी गाउँपालिका–४ को धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जीपलाइन निर्माण गरिएको हो ।

‘जिपलाइन’६ सय ५० मिटरको छ । भारतीले भने, “जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।”

उनका अनुसार, जीपलाइनको शुल्क प्रतिव्यक्ति ८ सय रुपैयाँ कायम गरिएको छ । यसबाहेक दुई जनाले (कपल) र सुपरम्यान जीपलाइन गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ ।

६ जनाको समूहमा जीपलाइन गरेमा एक जनाको निशुल्क हुने समेत अध्यक्ष भारतीले जानकारी दिए ।

जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ ।

पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो ।

प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छ्रे लगायतका थुप्रै हिमाल देख्न सकिन्छ ।

साथै बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिने भारतीले जानकारी दिए ।

१३ जेष्ठ २०८१