पर्यटकलाई स्काइ वाकको अनुभव दिन चियाबारी बिचमा टावर


टुरिजम पाना इलाम । १७ कार्तिक २०७९
Ilam kanyam sky walk tower

इलामको कन्याममा स्काइ वाकका लागि टावर निर्माण गरिएकाे छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यकाे विकास भइरहेकाे समयमा नेपालमा पहिलाेपटक स्काइ वाक सुरू हुन लागेकाे हाे ।

यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिए ।

टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कंचनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ ।

टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा स्विङ पनि तयार हुने रोकायले बताए ।

डेढ वर्षमा निर्माण सकेर कार्तिक १८ गतेबाट पर्यटकका लागि स्काइ टावर खुला गर्न लागिएको छ । स्काइ वाक गर्ने पर्यटकले ५०० रुपैयाँको टिकट लिनुपर्ने छ, साथै भिडियो खिच्ने, ड्रोनबाट फाेटाे, भिडियाे खिच्ने, साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ ।

skywalk kanyam

टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि ८ जनासम्म चढाइनेछ । स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन् ।

याे टावर १२ जना महिलाहरुकाे  ४ करोड लगानीमा बनेको हो । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काइ वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सन्जिब रोकायाले जानकारी दिए ।

विशेष गरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले पनि यो परियोजना विकास गरिएको हो ।

सेफ स्टिल प्रालि, जाल्पादेवि इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काइ टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो ।

स्काइ वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएकाे  निर्देशक रोकायाले जानकारी दिए ।

१७ कार्तिक २०७९