मङ्सिर २३ देखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने


टुरिजम पाना भैरहवा । २ मंसिर २०७९

‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन मेलाको आयोजना गरिएको बताए । यसका साथै वर्तमान आर्थिक तरलताको अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरूले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहने छन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ । विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएको छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जनाएको छ । (रासस)

२ मंसिर २०७९