यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए ।
विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उनले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए ।
अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ । यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो ।
मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौं अग्लो हिमाल हो । मनास्लु मानसिरी पर्वतशृङ्खलामा पर्दछ । यो मौसमका लागि मनास्लु आरोहण आकर्षक मानिन्छ ।
वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ । वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ । पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र तीन सय ७ पुरुष गरी कूल चार सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए ।
शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८.८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ ।
शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य संख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो मौसम आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको बताए ।