कराँते खेलाडी मन्डेकाजीको घुमफिर अनुभव


टुरिजम पाना काठमाडाैं । १९ मंसिर २०७९
mande kaji shrestha

अधिकांश समय खेलकुदमा बित्ने खेलाडीहरूले घुमफिर र मनोरञ्जनका लागि कमै समय पाएका हुन्छन् । उसो त उनीहरूले मनोरञ्जन नै गर्दैनन् भन्ने होइन । खेल र प्रशिक्षणपछिको समय उनीहरूको घुम्ने र केही नयाँ अनुभव लिने भन्ने नै हुन्छ ।

खेलाडीहरू प्राय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन देश–विदेश गइरहेका हुन्छन् । उनीहरूलाई घुम्ने समय पनि त्यसै बखत मिल्छ ।

प्रशिक्षण र खेल प्रतियोगिताका बेला आफ्नो लागि छोटो समय निकाल्दै घुम्न रुचाउने खेलाडीमध्येका एक हुन्, कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ ।

नेपाली कराँते क्षेत्रमा लामो समय राज गरेका उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई दोहोरो स्वर्ण दिँदै उत्कृष्ट सफलता दिलाए ।

नेपाल पुलिस क्लबको प्रशिक्षकको भूमिकामा रहेका श्रेष्ठलाई देशविदेश घुम्न निकै मनपर्छ । भ्रमणका शिलशिलामा नेपालका धेरै ठाउँमा उनी पुगिसकेका छन् । उनी घुमेका ठाउँहरूमध्ये सबैभन्दा मनपर्ने ठाउँ मनाङ, मुस्ताङ र पोखरा हो ।

विदेशी भूमिमा उनी सबैभन्दा धेरै घुम्ने ठाउँ हङकङ हो । घुम्न असाध्यै मन पराउने उनै मन्डेकाजीले टुरिजम पानासँग आफ्नो घुमफिर अनुभव साटेका छन् :

घुम्ने समय कत्तिको मिल्छ ?
प्रशिक्षण या प्रतियोगिता सकिनेबित्तिकै घुम्न जान्छु । घुम्न मलाई धेरै रमाईलो लाग्छ ।

देशभित्र कति ठाउँ घुम्नुभयो ?
देशभित्र मैले धेरै ठाउँ घुमेको छु । मलाई सहरभन्दा पनि गाउँहरू घुम्न एकदमै मनपर्छ । गाउँघरतिर घुम्नको लागि धेरै राम्रो वातवरण छ । स्वच्छ र सुन्दर वातावरणमा घुम्न पाउँदा निकै आनन्द लाग्छ ।

विदेश कति ठाउँ घुम्नुभयो ?
मैले विदेशमा २५ देशजतिको भम्रण गरेको छु । थाइल्यान्ड, हङ्कङ, दुुबाई, सिङ्गापुर जस्ता देशहरूमा धेरै गएको छु ।

तपाईँलाई कस्तो ठाउँमा घुम्न बढी मनपर्छ ?
नेपालको सन्दर्भमा भन्दा मलाई गाउँघर नै रमाइलो लाग्छ । गाउँघरतिर त्यहाँको चालचलन, रहनसहन त्यहाँको वातावरण मलाई राम्रो लाग्छ । चारैतिर हरियाली देखिन्छ । गाउँ घुम्दा त्यहाँको संस्कार र सँस्कृति पनि बुझ्न पाइन्छ । त्यकारण पनि मलाई गाउँ घुम्न पाउँदा राम्रो लाग्छ । विदेशको कुरा गर्दा मलाई हङ्कङ, दुुबाई जस्तो ठाउँ धेरै मन पर्छ ।

अहिलेसम्म घुमेकोमध्ये सबैभन्दा राम्रो लागेको ठाउँ ?
अहिलेसम्म घुमेका ठाउँहरू मध्ये मनाङ, मुस्ताङ असाध्यै राम्रो लाग्यो । पोखरा मलाई धेरै मनपर्ने ठाउँमा पर्छ । पर्यटकीय दृष्टिकोणले पनि धेरै नै राम्रो छ ।

पोखरा धेरै मनपर्नुको कारण ?
त्यहाँको वातावरण धेरै मनपर्छ । ठाउँ पनि त्यतिकै राम्रो छ । पहाडहरू भयो, त्यहाँका वस्तीहरू पनि रमणीय छन् । सुन्दर पोखरामा फेवातालले अझैँ सुन्दरता थप्ने काम गरेको छ । आन्तरिक र बाह्य पर्यटक जाने ठाउँ भएकाले पनि मलाई धेरै मन परेको हो । प्याराग्लाइडिङलगायतका खेलहरूले पनि पोखरा बसाइलाई अझै रमाइलो बनाउँछ । त्यहाँको हावापानी (मौसम) पनि निकै मिल्ने खालको छ । खानेकुरा पनि राम्रो पाइन्छ । २४ सै घण्टा बजार खुल्ला हुन्छ । रातिको समयमा घुम्न झनै रमाइलो लाग्छ ।

घुम्न समूहमा, परिवारसँग या एक्लै जान रुचाउनु हुन्छ ?
प्राय घुम्न समूहमा नै जान्छौं । देश या विदेश मैले घुमेका धेरै ठाउँहरू समूहमा नै घुमेको छु । फेरि सधैँभरि साथीभाइहरूसँग मात्र घुम्न जाने भन्ने हुँदैन । म परिवारलाई पनि समय दिन्छु । परिवारसँग पनि धेरै ठाउँ घुम्न गएको छु । कोसँग जाने भन्ने कुरा ठाउँ अनुसार पनि फरक पर्छ ।

खेल जीवनमा व्यस्त तपाईँजस्ता खेलाडीले घुम्नको लागि कसरी समय मिलाउँछन् ?
घुम्नकै लागि भनेर समय त छुट्याएको हुँदैन । झनै म विभागीय टोलीमा छु । आफ्नो अनुकूलमा समय निकाल्न सहज छैन । खेलाडीलाई तयारीमा लाग्नुपर्ने हुन्छ । थोरै समयमा तयारी गरेर पुुग्ने हुँदैन । प्रशिक्षणमा रहेको समय र खेल्दै गरेको समयबाट घुम्नका लागि समय छुट्याउने गरेको छु । धेरैजसो त खेलकुद प्रतियोगिता खेल्न गएको समयमा नै घुम्ने वातावरण मिल्छ ।

साथीहरूलाई घुम्न जान कतिको प्रेरित गर्नुहुन्छ ?
बिदाको समयमा सधैँ घुम्न जाने कुरा मात्र हुन्छ । मैले मात्र होइन उनीहरूले पनि मलाई घुम्न जान प्रेरित गरिरहेका हुन्छन् । आफू घुमेर आएको ठाउँका बारेमा साथीभाइसँग कुराकानी हुन्छ । अनुभवहरू सुनाइन्छ र राम्रो ठाउँ छ भने घुम्न जान सजेस्ट पनि गरिन्छ ।

साथीहरूलाई कुनकुन ठाउँ घुम्न जान सुझाउनु हुन्छ ?
मैले काठमाडौँ रहेका साथीहरूलाई घुम्न जान सुुझाएँ भने नजिकैको ठाउँहरू भन्छु । सुकुटे बिच जान भन्छु । त्यहाँको खोला नजिकै रमणीय वातावरण छ । ¥याप्टिङ गर्न पनि पाउने भएर मलाई राम्रो लाग्छ । टाढा जानु प¥यो भने मैले कालिञ्चोक जान सुुझाउँछु । एकदमै राम्रो ठाउँ छ, त्यहाँ । हिउँ पर्छ । म आफैँ पनि प्राय गइरहन्छु ।

घुम्न जाँदा मन नपर्ने कुरा के हो ? जुन सुधार गर्नुपर्छ भन्ने लाग्छ ।
नेपालमा बाटोको अलि समस्या छ । घुम्न जाने ठाउँ अनुसार बाटो पनि राम्रो भयो भने सहज हुन्छ । ग्रामीण क्षेत्रमा पर्याप्त मात्रामा राम्रो बस्ने ठाउँ, खाने ठाउँ भयो भने झनै सजिलो हुन्छ । यस्ता विषयहरूमा सरकार लगायत पर्यटनको क्षेत्रमा काम गर्नेहरूले ध्यान दिनुपर्छ भन्ने लाग्छ । यसमा उहाँहरूको ध्यान जाओस् ।

एड्भेन्चरमा सोख राख्नुहुन्छ ?
टुरिजमको कुरा गरिसकेपछि एड्भेन्चर छुटाउन मिल्छ जस्तो लाग्दैन । नेपालमा रहेका एड्भेन्चरको कुनै पाटो छोडेको छैन । मैले पोखरामा प्याराग्लाइडिङ गरेको छु । बञ्जी र र्याफ्टिङ मेरो मनपर्ने विधा हो । वर्षको एक पटक मैले र्याफ्टिङ गरिरहेको हुन्छु । बञ्जी पनि धेरै पटक गरेको छु । एड्भेन्चरमा अहिले नयाँनयाँ कुराहरू पनि आएका छन् । समय मिलाएर बिस्तारै तिनको पनि अनुभव लिनेछु ।

mandekaji

१९ मंसिर २०७९