नेपालमा टोनी हेगनकाे पदचाप पछ्याउँदै उनकी छोरी


टुरिजम पाना काठमाडाैं । १९ मंसिर २०७९
daughter of toni hegan

मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर गर्छिन् र विशेषगरी हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार पनि गर्छिन् ।

नेपाल आएको कतिपटक भयो भन्ने हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला ।’

यस वर्ष उनी नेपाल आएको यो तेस्रो पटक हो । ‘पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।’

चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहिछन् बुबासँग ‘तर धेरै सम्झना छैन, चार वर्षकि थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।’

नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन् ।

उनका बुबाअर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन् । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका छन् ।

प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।

सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन् ।

नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्याइदिएका छन् ।

नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो ।

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।’

आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैँले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन् । हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ ।

‘बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ’, क्याटरिनले भनिन् ।

‘नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु’उनले भनिन् ।

नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्वीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ ।

क्याट्रिन भन्छिन्, ‘महत्वपूर्ण तस्वीर छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्बीरहरु उनको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ ।’

बुबाजस्तै उनले पनि नेपालका अधिकांश पदमार्गमा यात्रा गरेकी छिन् । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उनलाई ।

टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गरेकाे बताउँछिन् ।

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।’ रासस

१९ मंसिर २०७९