अमेरिकाको नजरमा नेपालः सुरक्षित कि अझै संवेदनशील ?


टुरिजम पाना काठमाडौं । १८ चैत्र २०८२

अमेरिकाले नेपाल घुम्न जाने आफ्ना नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । मंगलबार अमेरिकाको विदेश मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अमेरिकाले नेपाललाई उच्च सतर्कता अपनाउनु पर्ने सूचीमा राखेको थियो, जुन अहिले लेभल २ मा झारिएको छ । असको अर्थ पहिलाको भन्दा खतरा कम छ भन्नु हो ।

अद्यपी अमेरिकाले देशको सुरक्षा अवस्था सामान्य रहेको बताए पनि नेपालमा कहिलेकाहीँ सहरमा प्रदर्शन हुन सक्ने र प्रदर्शनले व्यापक रुप पनि लिन सक्ने भएकाले त्यसबाट सुरक्षित रहन आफ्ना नागरिकलाई सुझाएको छ । साथै, त्यस्तो ठाउँबाट टाढा रहन र स्थानीय प्रहरीको कुरा मान्न पनि सुझाव दिएको छ ।

यसका साथै, अमेरिकाले नेपालमा सामान्य र आपतकालीन स्वास्थ्य सेवा राम्रो नभएको बताएको छ । काठमाडौंका अस्पतालहरू अन्य ठाउँको भन्दा अलि राम्रा छन् तर त्यहाँ पनि बिरामी धेरै हुन्छन्, कहिलेकाहीँ औषधि र उपकरण अभाव हुन सक्ने र नेपाल सरकारले उपचार खर्च नबेहोर्ने भएकाले आफूले खाने औषधी साथमा राख्न, स्वास्थ्य बीमा गर्न र विरामी भए अर्को देश जान तयार हुनुपर्ने बताएको छ ।

यसबाहेक नेपालमा भूकम्प, बाढी र पहिरो प्रायः आउँछ । मनसुनको समयमा जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षाले बाढी र पहिरो आउन सक्छ जसले सडक बन्द हुने कुरामा पनि सर्तक रहन आग्रह गरेको छ ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई अमेरिकाको ‘स्टेप’ नामको कार्यक्रममा आफ्नो यात्रा दर्ता गर्न, नेपालको सुरक्षा रिपोर्ट पढ्न, स्थानीय समाचार नियमित हेर्न, प्रदर्शन र भीडबाट टाढा रहन र यात्रा गर्नुअघि राम्रो बीमा गर्न सुझाव दिएको छ ।

अमेरिकाले नेपालको चेतावनी स्तर घटाए पनि अझै सावधानी अपनाउन भनिरहेको छ । पर्यटन क्षेत्रका मानिसहरूले यो निर्णयलाई नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राम्रो खबर मानेका छन् ।

१८ चैत्र २०८२