मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् ।
वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको कार्यक्रममा वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गरेका हुन् ।
सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गरे । उनले भने, “नेपालको ‘एभिएसन सेक्टर’ धेरै सुरक्षित छ । हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक र एयरलाइन्स अपरेटर उत्तिकै जिम्मेवार भएर लागेका छन् । एभिएसन सेफ्टी र सेक्युरिटीमा कुनै कसर बाँकी राखिएको छैन ।”
क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको उल्लेख गरे । उनले हवाई यात्रा तुलनात्मकरूपमा बढी सुरक्षित रहने भएकाले यो क्षेत्रप्रति नकारात्मक टीकाटिप्पणी गर्न नहुने तर्क गरे ।
हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताए ।
क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताए । उनले हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।