स्याङ्जाको अर्जुनचौपारीमा बन्यो नेपालकै पहिलो नवग्रह मन्दिर, के–के छन् विशेषता ?


टुरिजम पाना स्याङ्जा । २ फाल्गुन २०८१

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालमै पहिलोपटक नवग्रह मन्दिरको निर्माण भएको छ । नेपालमै पहिलोपटक वडा नं १ मा नवग्रह मन्दिर निर्माण गरेसँगै अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बनेको हो । प्रायः जसो घरमा नवग्रह पूजा हुने गर्दछ तर, नवग्रहको विधिवत् पूजा हुने शक्ति पीठ नेपालमा अहिलेसम्म नभएको र अर्जुनचौपारीमा उक्त मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

विभिन्न शक्ति पीठहरूमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएता पनि देश विदेशमा सिद्धी प्राप्ति योगीहरूले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजिम उनीहरूकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको उनले बताए । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भए तापनि नेपालमा ग्रहकै मात्र पूजा हुने मन्दिर छैनन् । नवग्रह, नौ आकाशीय पिण्ड, को मन्दिर भारतको असमको चित्र सालको पहाडमा मात्र रहेको छ । मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्रामै पहिलो भएको पालिका अध्यक्ष तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउमा पिपल रोपिएको हो । देशभरका गाउँपालिकाका प्रमुखमध्ये युवा पुस्ताका अग्र सुचीमा आउने तिवारी पालिका भित्र मात्र होइन, देशमै केही नयाँ गरौँ भन्ने सोचका साथ अगाडी बढिरहेका छन् ।

नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुर्दशीमा मात्र दर्शन गर्न पाइनेछ । नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बिचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिव लिङ्ग राखिने र अन्य कोणमा गणेश, कुल देवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमा सहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौ वटा भुजा रहने पिल्लरमा १३ फिटमा नौ वटा ग्रहका प्रतीक रहेका छन् भने त्यस माथि नवभुज आकारको १४ फुटको पिल्लर छन् ।

नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरूलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइनेछ । मूल नवग्रह मन्दिर पालिकामा रहेता पनि यसका ९ निशान प्रतिमाहरू पालिका अन्तर्गतका ५ वटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिका लगायत अन्य पालिकाका ४ वडा मिलेर भौगोलिक स्वरूप ब्रम्हाणीय स्वरुपमा घुमेर रहेकाले पालिकाले छोएका भीरकोटको वडा नं ७, पुतलीबजार न.पा १३, १४ र आधिखोला गा.पा. १ मा निशान प्रतिमाहरूलाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए ।

नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रिको अवसर पारेर फाल्गुन ६ देखि १४ गते सम्म १ करोड २५ लाख दियो प्रज्वलन गरी भव्य रूपमा गर्ने गाउँपालिकाको तयारी गरेको पालिकाले जनाएको छ । विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी अर्जुचौपारी गाउँपालिका गाउँपालिका वडा नं १ मा नवग्रह मन्दिरको निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किलोमिटरको दुरीमा रहेको नवग्रह मन्दिर निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ ।

२ फाल्गुन २०८१