‘पनौती’ विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा


टुरिजम पाना संवाददाता पनौती । १५ माघ २०८०

पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगरको पनौतीको वडा नं ७ (बजार क्षेत्र) लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो ।

युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताए । उनले भने, ‘नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त तयारी सकेपछि सूचीकृतका लागि ‘फाइल’ युनेस्को पठाउने छौं ।’

भण्डारीका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्ने/नसक्नेबारे स्थानीयस्तरमा छलफलको तयारी भइरहेको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य विसं २०७९ मा अघि बढाइएपछि युनेस्कोको नेपालप्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । नेपालस्थित मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ ।

सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगरद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

१५ माघ २०८०