म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।
पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुुरुङले जानकारी गराएका छन् ।पर्यटकहरुले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र सहासिक यात्रा गरेर रमाउन थालेका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा जोकोही मक्ख पर्दछन । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै हुदैन ।
हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।
हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका यहाँका ज्येष्ठ नागरिक बताउँछन् । तालको परिसरमा हिन्दू धर्मग्रन्थ रामायणका पात्र कागभुुसुुण्डि ऋषिले तपस्या गरेको डाडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ । निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ ।
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन् ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । उहाँले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै ०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ ।