सुन्दर पाँचपोखरीलाई मस्तसँग नियाल्दा


सुवास थापा पाँचपोखरी । ६ कार्तिक २०८०

यात्रा एउटा लत रहेछ नशा रहेछ । त्यसमा पनि अझ यो पदयात्रा ! दैनिक व्यस्त जीवन अनि यो काठमाडौंको कोलाहलबाट दिक्क भइसकेको म । यस्तोबेला यसबाट छुटकारा पाउन कसलाई पो मन नहोला र ! यसमा पनि म घुम्न र प्रकृतिसँग डुल्न रुचाउने मान्छे । घुम्नकै लागि र काम कै शिलशिलामा म नेपालको केही ठाउँहरूमा पुगिसकेको छु । तर पदयात्रा भने मैलै अहिलेसम्म गरेको थिइन । सानो सानो हाईकिङसम्म नगएको म एक्कासी पदयात्रामा जान मन लाग्यो । तर कहाँ जाने, कोसँग जाने र कहिले जाने भन्नेबारे मैले सोचिसकेको थिइन । 

खास गरि भन्नुपर्दा मेरो साथीहरू नै छैनन् भन्दा पनि फरक नपर्ला । साथी भनेको मेरो अफिसका मात्र छन्  । कतै जानका लागि फेरि एकैचोटी छुट्टी नमिल्ने । एक्लै त झन् म कतै निस्केको पनि छैन । तर  प्रिय एकजना दाई हुनुहुन्छ अन्जन पुडासैनी,प्रिय साथीहरू यशोदा शर्मा र प्रेरणा पुरी । उहाँहरूले भने मलाई घुम्ने कुरामा होस् या अन्य कुरामा सँधै साथ दिनुहुन्छ । ब्यस्तताकै बिचमा मैलै सुरुमा साथी प्रेरणालाई कुरा राखेँ ग्रुप बनाऔं अनि पदयात्रामा जाउँ । उनी पनि प्रकृतिप्रेमी अनि पदयात्रामा अथवा भनौं घुम्न रुचाउने । उस्लाई पनि कोलाहलबाट दिक्क भइसकेको रहेछ अनि उसको जवाफ आयो, हुन्छ  । कहिले कोको जाने र कहिले जाने भन्नेबारे सल्लाह भयो । उनले  सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी जाने प्रस्ताव गरिन् । यस ठाउँको बारेमा भने मलाई केही थाहा थिएन । अहिलेको समयमा त प्रविधिको युग छ जे पनि सामाजिक सञ्जालमै पाहिन्छ । अनि म पनि गुगलमा खोजी गर्दा कतैबाट देखिएको पाँचपोखरीको तस्बिरले औधी लोभ्याएको थियो । 

पाँच पोखरीहरू एकै ठाउँ रहेको थलो । त्यो पनि करिब ४२ सय मिटर उचाइमा । यसैबिच हामी २०८० साल भदौको ३० गते शनिबार पाँचजनाको टिम पाँचपोखरी जाने तय भयो । अनि यति भएपछि मलाई पनि के चाहियो । अब चाहिँ पदयात्रामा जान पाइने कुराले धेरै उत्साहित त थिएँ नै तर मनमा डर पनि थियो यति माथि कसरी पुग्ने भनेर । शनिबार बिहान हामी पाँचैजना काठमाडौंको जोरपाटी स्थित नारायणटारको खोलाको किनारमा रहेको बसपार्कमा बिहान ६ बजे भेट भयो र टिकेट काट्न गयौं तर टिकेट अघिल्लो दिनमा सकिसकेको रहेछ । यात्रामा हिडिसकेको मान्छेलाई के ले छेक्ने भनेर हामी उभिएरै भएनी जाने भनेर बस चढ्यौं । 

अब हाम्रो यात्रा सुरु हुन्छ …..

जिवन पनि एक यात्रा हो । अनि जिवनको अर्थ ति अनगिन्ती गन्तव्यहरूको यात्रालाई जिउनु हो । यात्रा र गन्तव्य कै बिचमा घुम्छ जिवन । काठमाडौँबाट पाँचपोखरी यात्रा तय गर्दा सार्वजनिक यातायातबाट पाँचपोखरी जाने हो भने काठमाडौंको जोरपाटी स्थित नारायणटारबाट विहानको साढे ६ बजे बस छुट्ने गर्दछ । बसको टिकट ६ सय तिरेर वा अन्य सवारी साधनका माध्यमबाट मेलम्ची हुँदै छिम्ति पुग्न सकिन्छ । छिम्ती बजार, जुन बस यात्राको अन्तिम गन्तव्य हो । हामी पनी यात्राको क्रममा लगभग ७ घण्टामा छिम्ती बजार पुग्यौं । हामी पाँच जना हिडेपनि प्राय बसमा रहेका ५/ ६ जना बाहेक सबैजना पाँचपोखरी पदयात्राका लागि हिँडेका रहेछन् । पदयात्राको लागि सिजन पनि सुरु भएको थियो त्यसैले पनि होला धेरै संख्यामा मान्छेहरू यात्रामा निस्केका । त्यहाँ सम्म पुग्दा बसमा नयाँ धेरै मान्छेहरूसँग परिचित भयौं र यात्रा पनि रमाईलो हुँदै गयो ।  त्यहाँ पुग्नेबेला सम्म भोक पनि लागिसकेको थियो । हामीले त्यहाँ खाना खायौं । २० मिनेट जति आराम गरेपछि हाम्रो पहिलो दिनको पैदलयात्रा सुरु भयो । यस दिनको हाम्रो योजना टुपीडाँडासम्म पुगेर बस्नु थियो । हामी पनि हिँड्दै गर्दा पदयात्राको क्रममा त्यही अपरिचित मान्छेहरूसँग भेट भयो र उनीहरूसँगै हामी पनि चिनाजान गर्दै रमाईलो गर्दै अगाडी बढ्यौं । तर यात्राको विशेषता नै यही हो । कहाँ हो कहाँको मान्छेलाई एक छिनमै आफ्नाहरू जस्तै बनाइदिन्छ । 

यात्राको क्रममा उकाली ओराली गर्दै त्यो जंगलको बाटो ,शान्त वातावरण ,खोला नाला अनि प्रकृतिसँग रमाउँदै हामी सबै एउटै गतिमा पाईला अघि सार्दै  देउराली पुग्यौं ।

 मौसम पनि बिग्रिँदै गयो र पानी पर्न थाल्यो । त्यहाँ सानो होमस्टे रहेछ हामी पनि त्यहाँ एकैछिन बस्यौँ र रेनकोट ओढेर फेरी यात्रा सुरु गर्यौं । छिम्तीदेखी ६ घण्टाको बिचमा यस दिनको अन्तिम पैदल यात्रा अर्थात बस्ने ठाउँ टुपीडाँडा पुग्यौं । त्यहाँ पुग्दा रात पनि परिसकेको थियो र टुपीडाँडामा रहेको होमस्टेमा बास बस्यौं । बास बस्ने क्रममा पनि माहोल रमाईलै बन्यो । अलि चिसो मौसम थियो हामीले पनि यात्रामा जोडिएका नयाँ साथीहरूसँग हाम्रो पाँच जनाको टिमले अन्ताक्क्षरी खेल्यौं र खाना खायौं  । भोलिपल्ट बिहान ६ बजे निस्कने योजना सहित हामी सुत्यौं । खानपिनका लागि होमस्टेहरूको राम्रै व्यवस्था रहेको थियो ।   

अर्को दिन हामीलाई गन्तव्य अर्थात् पाँच पोखरीमा पुग्नैपर्ने थियो । हामीले छ बजे बिहान निस्किने भनेका थियौं तर ब्रेकफास्ट गरेर निस्कियौं साँढे ६ बजे । त्यहाँ बास बसेको समुह मध्ये सबैभन्दा अगाडि हाम्रो पाँच जनाको टिम निस्कियो । निस्कने क्रममा हामीले सूर्योदय हेर्ने मौका पनि पायौं ।

पाँचपोखरी हामी सबैको पहिलो यात्रा थियो । त्यहाँदेखि पदयात्रा गर्दै जंगलको बाटो जानुपर्नेछ भने ठाउँ ठाउँमा गोठ तथा छाप्राहरू भेटिन्छन् । हिड्दै गर्दा बाटो सिधै उकालो पनि थियो, उकाली ओराली गर्दै जाँदा थकाई पनि लागिरहेको थियो । हामी पनि बाटोमा केहि बेर बस्दै आफुले बोकेको पानी र खानेकुराहरू खाँदै त्यहाँको प्रकृतिक सौन्दर्यसँग रमाउँदै फोटो खिच्दै अघि बढ्यौँ । केही समयपछि हामी नोस्याङपाटी पुग्यौं । नोस्याङपाटी ३७ सय मिटरको उचाईमा रहेछ । यहाँसम्म हामी आराम गर्दै सजिलैसँग पुग्यौँ र खाना खाने ठाउँ नै त्यही भएका कारण खाना खायौँ । दोस्रो दिन हिड्न सक्नेहरू पाचपोखरी नै पुग्नेरहेछन भने हिड्न नसक्नेका लागि नोस्याङपाटीमा बास बसेर तेस्रो दिन पाँच पोखरी पुग्न सकिने रहेछ । नोस्याङपाटीबाट करिब ८ घण्टा हिंडेपछि पाँच पोखरी पुगिन्छ । हाम्रो योजना अनुसार दोस्रो दिन पाँचपोखरी नै पुग्नुपर्ने थियो । 

अब उचाई पनि बढ्दै जाने भएकाले एकैचोटि गन्तब्यमा पुग्न गाह्रो हुने भएपनि हामी पाँचपोखरीको यात्रामा निस्कियौँ । जति उचाईमा गयो मौसम परिवर्तन भईराख्ने रहेछ । छिनछिनमा पानी पर्ने ,कुहिरो लाग्ने रहेछ । कुहिरोसँग लुकामारी खेल्दै हामी अघि बढ्यौँ । उचाई पनि बढ्दै गयो । अब सबैजनाले फरक महसुस गर्न थाले । मेरो टिमको अन्जन दाईले भन्नुभयो एकैछिन बसौँन । त्यस्तै प्रेरणालाई पनि अलि सास फुलेजस्तो भएछ र मलाई पनि त्यस्तै महसुस भईरहेको थियो । हामी केहिबेर बस्यौँ र अलि सहज भयो अनि बरु ढिलै पुग्ने बिस्तारै उचाई अनुसारको वातावरणसँग घुलमिल हुँदै जाँदा अलि सहज हुँदोरहेछ भन्ने लागेर त्यसै गर्दै यात्रा अगाडि बढायौँ । पाँच पोखरी पुग्नुअघि सात घुम्ती कटेर जानु पर्छ । सात घुम्ती भनेको ठाडै उकालोलाई हिँड्न मिल्ने गरी बाटो बनाउँदा बनेको घुम्ती रहेछ । उकालो सकिए पछि लौरी विनायक पुगिन्छ । खास गरेर उकालोमा टेकेर आएको लौरो बिसाउने स्थानलाई लौरो विनायक भनिएको हो । हामी जसोतसो यस ठाउँ पुग्यौँ । लौरी विनायक करिब ३९ सय मिटर उचाईमा रहेको छ । हामीलाई पहिला भन्दा अझ बढि गाह्रो हुँदै गयो । 

दैनिक जीवनमा देख्न महसुस गर्न नपाइने अनेक कुराहरूको अनुभव गर्न पाइन्छ यात्रामा एउटा निर्धारित लयमा चलिरहेको जीवनलाई जीवन जिउने अरू पनि धेरै तरिका छन् भन्ने कुराको बोध गराउँछ यात्राले यात्राहरू मध्ये पनि अझै पदयात्रा कुनै आध्यात्मिक अनुभव भन्दा कम हुँदैन

लगातार पानी परिरहेको थियो । रेनकोट ओढेपनि जुत्ता र कपडा पुरै भिजिसकेको थियो । फर्केर आउने यात्रीहरूलाई सोध्यौँ  अब कति समय लाग्छ पाँचपोखरी पुग्नका लागि उनीहरूले भने यहीँ नजिक हो उकालो छ सकिएपछि ३० मिनेटमा पुगिन्छ । अलि हौसला मिल्यो अब त नजिकै रहेछ भनेर । अनि हामी बिस्तारै बिस्तारै बस्दै बस्दै गर्दै उकालो पनि कटियो । एउटा माने आयो । पौने सात बजिसकेको थियो पानी परिरहेको छ ,रात परिरहेको अनि हुस्सु कुहिरो लागिरहेको निकै गाह्रो हुँदै गयो । जाँदै गर्दा अँध्यारो भएपनि अलि पर पुगेपछि पोखरी देखिन थाल्यो र त्यहाँ गोठहरू पनि देखिन थाले । हामीले सोध्दै गयौँ पाँचपोखरीमा ब्यवसायलाई मध्यनजर गर्दै पालैपालो गरि क्यु सिस्टममा लगाउने गरिएको रहेछ ।

हामी सवा सात बजे हाम्रो गन्तब्य पाँचपोखरी पुग्यौँ । हामी त्यहाँ पुग्दा हामीलाई पछि पार्दै अघि गएकाहरू लगभग २५/३०जना त्यहाँ पुगिसकेका रहेछन् । पाँच पोखरी पुग्ने बेला सम्म बाटामा खोला, झरणा लगायत विभिन्न प्रकारका फूलहरू र प्राकृतिक सुन्दरताले जो कोहीको मन लोभ्याउँछ । 

हामी पनि त्यहाँ पुग्दा पुरै भिजिसकेको थियौँ र कपडा फेर्‍यौँ । निकै गाह्रो भएको थियो । तातोपानी टन्न पियौँ । मेरो त टाउको नै फुट्ला झैँ भईरहेको थियो भने टाउकोको नसाहरू निकै चलिरहेको थियो । लाग्छ कि अब बाहिरै निस्किन्छ । बस्नका लागि गोठमा लाईन लागेर सुत्नुपर्ने रहेछ । त्यहाँको साहुजीले हाम्रो पनि सबैजनाको ओछ्यान तयार पारिदिनुभयो । थकानका कारण र शरिरलाई गाह्रो भएका कारण अन्जन दाई सुत्नुभयो । प्रेरणालाई पनि निकै गाह्रो भईरहेको थियो प्रेरणा पनि सुतिन् ।

जस्तोसुकै भएपनि भिजेका कारण एकैछिन आगो ताप्ने भनेर म र अन्य दुईजना साथीहरू आगो ताप्न निस्क्यौँ । आगो ताप्ने क्रममा त्यहाँका साहुजीले बाबुहरू अब खाना खाऔं भन्नुभयो तर हामी पहिलो पटक यति धेरै ४२ सय मिटर उचाईमा पुगेका कारण लेक लागेर होला केही खान नै कसैलाई मन थिएन । तर साहुजीले एउटा केही समय अघिको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो ‘बाबु नरुचेपनि अलिकति भएपनि खाउ । दाल भएपनि खाउ नत्र झन गाह्रो हुन्छ । पहिला एकजनालाई पनि यस्तै हुँदा चिसो मौसमको बेला खालीपेट सुत्दा उस्को मृत्यु भएको थियो । झन डर थपियो । र म र त्यहाँ आगो ताप्न गएका साथिहरूले खाना थोरै भएपनि खायौँ र मैले त्यहि डरले पनि प्रेरणा र अन्जन दाईलाई दाल मात्र भएपनि जबरजस्ती गरेर खुवाउन लगे तर प्रेरणाले खान मानिन उस्लाई निकै गाह्रो भएको थियो त्यसैले पनि होला अन्जन दाई,प्रेरण र नुईजना साथिहरू सुते । मलाई त डर र गाह्रो भएका कारण पनि निन्द्रा नै लागेन । राती प्रेरणालाई बोलाए तिमिलाई कस्तो छ उस्ले भनिन् अहिलै अलि ठिक छु । यता अन्जन दाईलाई पनि केही कम भएछ । मनमा अलि शान्त भयो र म पनि केही समय निदाए छु र राति ४ बजे ब्युँझिएपछि म उठेरै बसेँ ।

बिहान साँढे ५ बजे उठियो । बिहान उठ्दा यात्राभरका सबै दुःख एकनिमेषमै बिर्सियो। चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै स्थानमा पाँच-पाँच पोखरी । सबै पोखरीमा निलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका थिए । 

पाँचपोखरी करिव ४० मिनेटको उकालो यात्रा गरेपछि भ्यू पोईन्टमा पुगिन्छ त्यहाँ र पाँचपोखरीमा रहेको प्रख्यात शिव मन्दिर जाने निर्णय गरियो र गइयो पनि ।

हामी पहिला मन्दिर तर्फ लाग्यौँ र पूजा गर्दै कुण्डमा गएर हात मुख धोएर फर्कियौँ र माथि भ्यू पोइन्टमा पुग्यौँ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने रहेछ । उच्च पहाडी र हिमाली जैविक विविधता, अनुपम प्राकृतिक सौन्दर्य, नाकैमा ठोकिन आउने जुगल हिमाल श्रृंखला मात्र होइन, इटलीको डोलोमिटिज् हिमाली उपत्यकासँग तुलना गर्न सकिने लेङसिङ भ्यालीको सुन्दरता देख्न सकिन्छ ।

अर्कोतिर अग्लो पहाडमाथि लमतन्न परेको भूभागमा पाँच वटा पोखरीहरू, वरिपरि अग्ला होचा थुम्काहरू, जहाँबाट नियाल्दा एकातिर तँछाडमछाड गर्दै उभिरहेका पहाडका चुचुराहरू देख्न सकिन्छ त्यहाँ पुगेपछि त सबै दुखाई बिर्सँदै प्रकृतिमा रमाउन थालेँ । लाग्दैछ म स्वर्ग जस्तै ठाउँ आईपुगेँ । अनि अन्जन दाईले क्यामेरा निकालेर दृश्यहरू कैद गर्नुभयो । प्रेरणा पनि प्रकृतिमा एक्लै हराउँदै भिडियो बनाउन थालिन् भने म पनि के कम । म पनि एकफेर मनै देखि चिच्याएर त्यतै त्यहाँको प्रकृतिमै रमाउन थालेँ । अब हाम्रो फर्किने तयारी हुन्छ । त्यस दिन हामी फर्केर गाडी लागने ठाउँ छिम्तीसम्म पुगेर बास बस्यौँ  र चौथो दिन हामी काठमाडौँ फर्कियौँ ।

पदयात्राको रमाईलो पाटो यात्राले सिकाएको पाठ

पदयात्राको रमाईलो पाटो भनेको एक त मेरो यती लामो पदयात्रा पहिलो थियो अझ भनौ पदयात्रा नै पहिलो थियो । त्यसमाथि पनि मेरो जिल्ला पनि सिन्धुपाल्चोक नै हो । आफ्नै जिल्लामा यस्तो प्रख्यात ठाउँ रहेछ भन्ने थाहा भयो । यसले निकै उत्सुकता त थपेकै थियो यात्रामा । त्यसैले पनि होला यात्रा कठिनाई भएपनि सुरक्षित साथ गन्तब्यमा पुगियो । अर्को कुरा म टेलिभिजनकर्मी त्यसमा पनि पर्यटन बिट हेरिरहेको मान्छे । त्यहाँ पुगेपछि पेशाले पनि होला यस ठाउँको त प्रचारप्रसार पनि नपुगेको टेलिभिजन मार्फत प्रवर्द्धन गर्छु भनेर आएर मैले समाचार मार्फत पनि प्रचार गरेँ । 

सञ्चार माध्यमको पनि गन्तब्यहरूको प्रचारप्रसार गर्नमा ठूलो महत्व रहेछ । यस्तै मैले अहिलेसम्म जताजता पुगेँ त्यस ठाउँहरूको बारेमा यसैगरि प्रचारप्रसार गर्नमा मद्दत गरेको छु । त्यस्तै यात्राले धेरैकुरा सिकायो । हामीले यात्रामा निस्कँदा पहिला कस्तो ठाउँमा जान लागेको र कस्तो खाले मौसममा जान लागेको त्यहि अनुसारको तयारी चाहिने रहेछ भन्ने कुरा यात्राले हामीलाई सिकायो । 

स्वास्थ्य सामाग्री लगायत कति समय लगायर जाने, हतारमा जाने कि समय लगाएर जाँदा सहजतापूर्वक पुगिन्छ भन्ने कुरा यस पदयात्राले सिकायो । विश्वास छ कि अब मैले यस्तै अन्य यात्रामा जाँदा यस कुरालाई मनन गर्दै यसको पालना गर्नेछु र यात्रा पनि सहज हुनेछ । तर, त्यहाँबाट फर्केर आएपछि भने कहिले निस्किएर अर्को पदयात्रामा जान पाइएला जस्तो भएको छ । धेरै दिनको पैदल यात्रा गरेर जब गन्तव्यमा पुगिन्छ त्यसको अनुभव अलौकिक छ । म अझै पनि त्यो अनुभव बयान गर्ने शब्दहरूको खोजीमा छु । हेरौँ त्यो पनि समयले नै बताउला । पदयात्रासँग मेरो गाढा प्रेम बसेको छ । बाटोमा जाँदै गर्दा भएको एउटा ठट्यौली सम्झना आउँछ अझै पनि ।

यात्रीहरूलाई मात्र थाहा हुन्छ यात्राको महत्त्व । नयाँ यात्राको आरम्भ एउटा नयाँ सिकाई र भोगाईको आरम्भ हो । हरेक नयाँ गन्तव्यको यात्राले मानव मस्तिष्कमा एउटा नयाँ आशा, विचार, विमर्शको विकास गर्दछ । त्यसैले यात्रीहरू सधै एउटा अदृश्य गन्तव्यका भोकमा डुबिरहन्छ । त्यसैले आज मैले एउटा अद्भुत पर्यटकिय गन्तव्य पाँचपोखीको बारेमा आफ्नो पहिलो पदयात्राको अनुभव बताउने प्रयास गरें । हुन त त्यो गन्तव्यलाई कुनै परिचयको खाचो छ जस्तो लाग्दैन । सायद तपाईहरू पुगिसक्नु भएको पनि हुन सक्छ । कसै कसै दुईतीन चोटिपनी पुगिसक्नु भएको होला । तर, गन्तव्य हरेक पल्ट नवीन छ । गन्तव्य आफैँ एउटा सृष्टीकर्ता न हो । नेपालमा धेरैवटा पाँचपोखरीहरू रहेका छन् । तर, यो राजधानीबाट निकै नजिकको दूरीमा रहेको पाँचपोखरी हो । पाँचपोखरीको यात्रा चौताराबाट पनि गर्न सकिन्छ । म त पुगेँ अब तपाईंहरू पनि एकपटक पुग्नुस है त ।

पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय छ । 

यो बुद्ध र हिन्दु धर्मावलम्बीका लागि पवित्र धार्मिक स्थल हो ।  पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । यो क्षेत्रका बारेमा स्कन्ध पुराणमा उल्लेख गरिएको छ । ठुली एकादशी र जनपूर्णिमाका दिन पाँच पोखरी धाममा भव्य मेला लाग्छ जसमा सयौँ भक्तजनहरूको घुइँचो लाग्छ । 

सरकारले एक सय प्रमुख गन्तव्यभित्र समेटेको पाँच पोखरी जाने पर्यटकको सङ्ख्या बढ्दो छ । पाँच पोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ । पाँच पोखरीमा घुमफिर मन पराउनेहरू बाह्रै मास पुगिरहेका हुन्छन् । 

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरूको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको थियो । तर उचित प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा सोचेजस्तो पर्यटकीय गतिविधि भने भएको छैन। यसका लागि सरोकारवाला सबै निकाय जिम्मेवार हुन जरूरी छ ।

६ कार्तिक २०८०