पोखरामा हुने प्याराग्लाइडिङ उडानको शुल्क बढेको छ । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानको दररेट बढाएको हो ।
हाल प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार तिर्नुपर्ने भएको छ ।
यो वृद्धि ४१ प्रतिशत हो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराईले उक्त शुल्कमा बिमा रकम र पाइलटको खर्च समाहित हुने जनाए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको बताए। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुंगा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईको भनाइ छ ।
नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् ।
तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले बताए । सबै कम्पनीमा गरी ३सय ७५ लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट छन् ।