नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दिपक काफ्लेलाई स्वागत गरेको छ ।
कोशी प्रदेश सचिवका रुपमा रहनु भएका डा.काफ्ले केही दिन अघिमात्रै मन्त्रालयमा सरुवा भएर आउनु भएको थियो । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले उहाँलाई स्वागत गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दिपक काफ्लेले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारिरुपमा नेपालको बजारिकरण गर्न सके यसबाट प्रशस्त लाभ दिन सकिने बताउनु भयो ।
यस्तै उहाँले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधै सकारात्मक रहेको बताउँदै पर्यटन प्रर्वद्धनका लागि नयाँ सोच र जागरकासाथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
बोर्डका बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको जानकारी दिँदै पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको बताउनु भयो ।
जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गरेका कामहरु र भावी योजनाबारे तथा कर्मचारीको प्रतिनिधित्व गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले कर्मचारीका हक हित समस्या तथा समसामयिक विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।