‘केही नसके स्कुटी किन्दिनु, पठाओ चलाउन जानु’ भन्ने शिक्षकको भनाइप्रति पठाओ नेपालको आपत्ति


टुरिजम पाना संवाददाता काठमाडौं । ८ बैशाख २०८०

पठाओ नेपालले ललितपुरको एक स्कुलका शिक्षकहरूले आफ्ना विद्यार्थीलाई गाली गर्दै केही नभए स्कुटी किनेर पठाओ चलाउन जानु भन्ने अभिव्यक्ति दिएकोप्रति गम्भीर आपत्ती जनाएको छ ।

कम्पनीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् भएको समेत बताएको छ ।

‘केही दिन अघि ललितपुरको एक स्कुलमा अध्यनरत विद्यार्थीका अभिभावकले सामाजिक सञ्जालमा आफ्नी छोरीलाई विद्यालयमा गरिएको दुव्र्यवहार उल्लेख गरे । उक्त बिषयमा विद्यालयका प्रतिनिधिले पठाओको नाम जोडेर राखेको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको छ,  कम्पनीका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले विज्ञप्तिमा भनेका छन् ।

विद्यार्थीका अभिभावकले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार सो स्कुलका भाइस प्रिन्सिपल सहित अन्य दुई जना शिक्षकले ‘यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ’ भनेको उल्लेख गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् हो,’ कम्पनीले भनेको छ,’केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र ब्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम  बनाइरहनु भएको छ ।’

कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवात जावातमा समेत सहजता प्रदान गर्न कम्पनीका क्याप्टेन, राइडर र फुडम्यानहरूले काम गरिरहेको समेत उल्लेख गरेको छ ।

विज्ञप्तीमा विद्यालय स्तरमा नै सबै किसिमका पेशा र ब्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स-सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा जोड दिएको छ । कम्पनीले भनेको छ,’शिक्षक वर्गले दिएको गलत अभिव्यक्तिको भोलिका दिनमा दोहोरिने छैन भन्ने बिश्वास गर्दछौं ।’

८ बैशाख २०८०