अनुमतिविना ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा राेक


टुरिजम पाना काठमाडाैं । २३ कार्तिक २०७९
chinese vlogger and bijaya lama

उडिरहेको विमानमा चिनियाँ भ्लगरलाई ककपिटभित्रैबाट अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा कारबाहीमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएपछि वायु सेवा निगमले पाइलट लामालाई उडानमा समेत रोक लगाएको छ ।

सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि उडानमा रोक लगाएको हो । उडानमा राेक लगाएकाे बारे सिनामंगल र बबरमहलमा रहेका प्राधिकरणमा पनि जानकारी गराएकाे उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ ।

हालै एभिएसन भ्लगर साम चुईले दुबई काठमाडौंको उडानमा पाइलट लामासँग ककपिटबाटै अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक भएपछि उनी छानविनमा तानिएका हुन् ।

प्राधिकरणले लामामाथि छानबिन सुरु गर्दै दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ । अनुसन्धान अवधिभर उनको नाम उडान रोष्टरबाट समेत हटाइएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्रै पाइलटले ककपिटभित्र फोटो खिच्न वा भिडियो खिच्न र अन्तर्वार्ता दिन पाउँछन् ।

उडिरहेकाे विमानमा चालक दलका सदस्यहरूबाहेक अन्य व्यक्ति विना अनुमति पस्न पाइँदैन । यसरी जाँदा उडान सुरक्षा प्रभावित हुन सक्ने भएकाले यसका लागि प्राधिकरणकाे निर्देशकबाट अनुमति लिनु पर्छ ।

२३ कार्तिक २०७९