सञ्चालनको तयारीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, हेलिकप्टर र अल्ट्रालाइट पुरानै विमानस्थलबाट


टुरिजम पाना पोखरा । ७ पुष २०७९

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारीमा छ । यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउन लागेको हो । सोही दिनदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयमा अनुसार छोटो धावनमार्ग भएका विमानस्थल (स्टल) मा उड्ने साना जहाज, अल्ट्रालाइट र हेलिकप्टर भने तत्कालका लागि पुरानै विमानस्थलबाट सञ्चालन हुने भएका छन् ।

पोखरामा निर्माण भएको नयाँ विमानस्थलमा यसैसाता एटीआर ७२ जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । सो उडानपछि आन्तरिक उडानका लागि भने बाटो खुल्नेछ । १ जनवरीदेखि उडान हुने भनिए पनि यसै दिनदेखि अन्तर्राष्ट्रिय व्यावसायिक उडानको भने टुंगो लागिसकेको छैन् । क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण नआएका कारण तत्काल अन्तर्राष्ट्रिय कम्पनीहरुले उडानको तयारी गर्न सक्ने छैनन् ।

१ वैशाख २०७३ सालमा शिलान्यास भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २७ असार २०७४ देखि काम थालिएको हो । काम थालिएको साढे ५ वर्षमा निर्माण सम्पन्न भएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलरमा सम्झौता भएको हो ।

७ पुष २०७९