पोखरामा पार्किङ व्यवस्थापनबारे महानगरले गर्‍यो सरोकारवालासँग छलफल

पोखरालाई सुन्दर बनाउने अभियानबाट पछाडि नफर्कने मेयरको जिकिर


टुरिजम पाना पोखरा । २५ माघ २०७९
तस्वीर : युवराज हमाल/पोखरा

पर्यटकीय शहर पोखराका मुख्य बजार र चोकहरूका सडकमा मोटरसाइकल र गाडीहरू पार्किङ गर्न दिने वा नदिने भन्ने बिषयमा अनिर्णित बनेको महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।

पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा महानगर प्रमुख धनराज आचार्यले सरोकारवाला निकायहरूसँग छलफल गरेका हुन् ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने जिकिर गरे ।
‘पोखराको मुख्य क्षेत्रबाट शुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भने, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो ।

सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङको विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको प्रमुख आचार्यले बताए ।

छलफलमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिजालले कुवै पनि व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका दौरानमा आफ्ना सेवाग्राहीहरूका लागि आवश्यक पार्किङको व्यवस्था गर्न जरुरी रहेको स्मरण गराए । व्यापार तथा व्यवसायका नाममा हुने कुनै पनि प्रकारको सार्वजनिक अवरोध स्वीकार्य नहुने बताउँदै वैकल्पिक उपायहरूको अवलम्बन गर्न बुद्धिमानी हुने उनले भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पोखराको पहिचान व्यवस्थित सहर र मर्यादित नागरिक भन्ने बनाउने हो भने सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गर्नुको विकल्प नभएको बताए ।

‘पोखरा गण्डकी प्रदेशको हब हो, नजिकबाट हेर्नेहरूका लागि यो गण्डकी प्रदेशको अनुहार हो, उनले भने, पोखरालाई सुन्दर सहरका रूपमा विकास गर्ने हो भने मेरो व्यवसाय के होला, कसो होला भन्न थालियो भने सुधार सम्भव हुदैन्, त्यस कारण मेरो र म भन्दा माथि उठ्न जरुरी छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले महानगरले एक्कासि पार्किङ हटाउने सूचना जारी गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको बताए ।

छलफल कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह लगायतको उपस्थिती रहेको थियो ।

पार्किङ व्यवस्थापनका लागि ३ दर्जन बढी अन्डर ग्राउन्ड र दर्जन बढी खाली जग्गाहरूमा पर्याप्त व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । पोखराको पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्म हाल ८८७ दुई पाङ्ग्रे सवारी र ३३६० दुई पाङ्ग्रे सवारी साधानहरु पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको बताएको छ ।

यसअघि गत माघ १६ बसेको महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पार्किङ गर्न नदिने निर्णय गरेको थियो भने माघ २२ गते नै अर्को सूचना जारी गर्दै तत्काल निर्णय कार्यान्वयन नगर्ने भनेको थियो ।

पार्किङ निषेध गर्ने निर्णयबाट एक हप्तामै पछि हट्यो पोखरा महानगर 

पर्यटकीय पोखराका मुख्य चोकमा पार्किङ निषेध

२५ माघ २०७९