प्रेमराजा महतको बन्दिपुर मोह, बन्दिपुरैमा-२ मार्फत पर्यटन प्रवर्द्धन (भिडियो)


टुरिजम पाना काठमाडौं । १६ पुष २०७९

अमेरिकालाई कर्मथलो बनाएर पनि फुर्सदमा नेपाल आउँदा लोक गीत संगीतको सिर्जनामा ब्यस्त हुने गायक हुन् प्रेमराजा महत । केही समय अगाडि बन्दिपुरैमा गीत सार्वजनिक गरेर उनले निकै चर्चा बटुले ।

उक्त लोकप्रियतालाई फेरि अर्को सिर्जना ढुङ्गेधारामा बोलको गीत मार्फत बन्दिपुरैमा २ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बन्दिपुरको चर्चित तीनधारालाई भिडियोमा देख्न सकिन्छ । धारामा भेटिने र जिस्कने गाउँले पिरतीलाई निर्देशक नारायण रायमाझीले सिर्जनात्मक ढङ्गले पस्किएका छन् ।

भिडियोमा सुन्दर बन्दिपुर बजार, काठले बनाएर ढुङ्गाले छाएको ठाँटी, बन्दिपुरबाट देखिने हिमशृङ्खला, सुर्यास्तको समयको सुनौलो आकाश लागायतको मनमोहक दृश्यलाई मानकृष्ण महर्जनले हेरिरहुँ लाग्ने गरि खिचेका छन् ।

गाउँले जीवनशैली भिडियोको अर्को मिठास हो । मेलाको काम, महि र मकैको खाजा, दूध र भातले गाउँ छोडेर सहरिया परिवेशमा रमाएकालाई नोस्टाल्जिक बनाउँछ ।महतको आफ्नै शब्द र सङ्गीत रहेको गीतमा उनलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

भिडियोमा महतसँगै रिना थापा र दर्जनौं कोरसलाई झ्याउरे तालमा कोरियोग्राफर रामजी लामिछानेले रमाइलो गरि नचाएका छन् । गाउँले जीवनशैली र बन्दिपुरको सुन्दरता सहित आएको म्युजिक भिडियोबाट बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

१६ पुष २०७९