सरकारले ‘बेकरी सर्टेनिङ’ उत्पादन तथा बिक्री वितरणमा कडाइ गर्ने निर्णय गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो।
विभागका अनुसार मिति २०८३/०१/१४ गते बसेको निर्णयअनुसार अब उद्योगहरूले १० केजीभन्दा कम तौलका प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ र बिक्री वितरण गर्न पाउने छैनन्। यस सम्बन्धमा विभागले सबै सम्बन्धित उद्योगहरूलाई औपचारिक सूचना जारी गर्दै उक्त नियम पालना गर्न निर्देशन दिएको छ।
त्यसैगरी, हाल बजारमा बिक्री वितरण भइरहेका १० केजीभन्दा कम तौलका बेकरी सर्टेनिङ उत्पादनहरूलाई सूचना दिएको दिनदेखि १५ दिनभित्र बजारबाट फिर्ता गर्न पनि विभागले स्पष्ट निर्देशन दिएको छ । फिर्ता गरिएका सामग्रीबारे विभाग तथा सम्बन्धित क्षेत्रीय कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यस निर्देशनको बर्खिलाप गर्ने उद्योगी वा व्यवसायीलाई कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ । ‘यदि कसैले तोकिएको तौलभन्दा कमका प्याकहरु उत्पादन वा बिक्री गरेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता बाल कुमारी शर्माले बताइन् ।
यो निर्णयसँगै अब बेकरी सर्टेनिङ्गको प्रयोग केवल ठूला औद्योगिक प्रयोजनमा मात्र सीमित हुने र बजारमा यसको जथाभावी खुद्रा बिक्रीमा नियन्त्रण आउने उनले बताइन् ।








