विश्वकपको लगानीलाई आधार बनाएर पर्यटनलाई विस्तार गर्ने कतारको योजना

खाडी राज्यको पर्यटन विकास गर्ने अवसर


मनिषा पौडेल काठमाडौं । ५ पुष २०७९

एसियाली मुलुक कतारले हालै विश्वकप फुटबल सफलतापूर्वक आयोजना गर्‍यो । २०१० विश्वकप आयोजना गर्ने जिम्मा पाएको कतारले त्यसयता विश्वकपलाई लक्षित गरी २२० बिलियन डलरभन्दा बढी रकम पूर्वाधारमा लगानी गरिसकेको छ ।

विश्वकप आयोजनाका लागि कतारले सात वटा नयाँ रंगशालासँगै एक विमानस्थल, मेट्रोप्रणाली, १५० भन्दा बढी होटल, सडक सञ्जालहरुको समेत निर्माण गरेको छ ।विश्वकपको फाइनल खेलका लागि लुसेल रंगशालाको वरिपरि एउटा सिंगो सहर नै निर्माण गर्यो ।

मुस्लिम समुदायको बाहुल्यता रहेको सानो एशियाली मुलुकले विश्वव्यापी रुपमा उब्जिएको शंकाको घेरा तोड्दै फुटबलको महाकुम्भलाई सफल बनाउन सक्नु नै कतारको ठूलो उपलब्धी हो । योसँगै विश्वकपले कतारको चौतर्फी विकास गर्न सक्ने आधार बनाइदिएको छ ।

कतारले विश्वकप आयोजनाका लागि गरेको लगानीले पनि त्यहाँको विभिन्न पक्षको बजार बढाउने एउटा अनुपम अवसर दिएको छ । विश्वकपबाट कतारले पाएको ब्रान्ड पहिचानलाई प्रयोग गरीे खाडी राज्यको पर्यटन विकास र भविष्यका सम्भावनाहरुलाई बढावा दिँदै विश्व बजारमा ठूलो विजेता बन्न तयार देखिएको छ ।

विश्वकपको अवधिमा कतारमा १२ देखि १५ लाख पर्यटक पुग्ने अपेक्षा गरिएको थियो । कतारले सार्वजनिक गरेको सरकारी तथ्यांकअनुसार विश्वकपको पहिलो दुई सातामा ७ लाख ६५ हजार पर्यटक पुगे । यो संख्या सन् २०२१ मा कतार पुगेका पर्यटकभन्दा १९ प्रतिशतले बढी हो ।

कोरोना भाइरसको महामारीले सुस्ताएको पर्यटन बजारलाई विश्वकपमार्फत् फैलाउने अवसर कतारले प्राप्त गर्‍यो । यही विश्वकपमा विकास गरेको पर्यटनको फाउन्डेशनलाइ बढाएर सन् २०३० सम्म देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान १२ प्रतिशत पुर्‍याउने लक्ष्यसमेत राखेको छ ।

विश्वकप उन्मुख पूर्वाधार विकाससँगै कतारले पर्यटनसम्बन्धी योजनाहरुलाई परिमार्जन गर्दै गयो । सन् २०१४ मा कतारले राष्ट्रिय पर्यटन क्षेत्र रणनीति २०३० सुरु गर्यो । यस योजना अन्तर्गत सन् २०३० सम्ममा प्रत्येक वर्ष ६० लाख पर्यटक आकर्षित गर्ने लक्ष्य कतारको छ ।

अर्कोतर्फ, कतारी अधिकारीले साना तथा मझौला उद्योगहरुको संख्या बढाउन, उद्यमशीलतालाई प्रोत्साहन गर्न र निजी क्षेत्रलाई बलियो बनाउन पर्यटन उद्योग विकासको मुख्य इन्जिन बन्ने आशा राखेका छन् । कतार पर्यटन प्राधिकरणले सन् २०१७ मा देशको पर्यटन रणनीतिलाई परिमार्जन गर्दै ई लासेन्सको प्रणाली लागू र ८० भन्दा बढी देशहरुलाई भिसा नलाग्ने नियम लागू गर्यो ।

पाँच वर्षका लागि पर्यटनसम्बन्धी रणनीतिलाई मार्गदर्शन गर्ने खाका सुरु गर्‍यो । यसमा कतार पर्यटन प्राधिकरणलाई राष्ट्रिय पर्यटन परिषदमा रुपान्तरण गरेको छ । यसमा कतारका प्रधानमन्त्री बोर्डको प्रमुख रहनेछन् । सन् २०२३ सम्ममा कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ३.८ प्रतिशत, होटल अकुपेन्सी दर ७२ प्रतिशत र प्रतिवर्ष ५६ लाख पर्यटक कतार पुग्ने अपेक्षा अधिकारीहरुले गरेका छन् ।

कोरोनाभाइरस महामारीले कतारको पर्यटन लक्ष्यहरु पूरा गर्न अवरोध खडा गर्यो । सन् २०१९ मा कतारले झन्डै २० लाख पर्यटकलाई स्वागत गरेको थियो । यो सन् २०१८ को तुलनामा १७ प्रतिशतको वृद्धि थियो भने सन् २०२० मा ७३ प्रतिशतले घटेर ५ लाख ८१ हजार पर्यटकमात्रै कतार पुगेका थिए ।

सन् २०२१ मा यो संख्या बढेर ६ लाख ११ हजार पुगे पनि लक्ष्यभन्दा धेरै कम थियो । विश्वकपकै कारण सन् २०२२ मा कतारको पर्यटन ‘बुस्ट’ हुने निश्चित छ । यो बाहेक अन्य अरबी राष्ट्रहरु संयुक्त अरब इमिरेट्स, साउदी अरेयिबा, ओमान र कुवेतको पर्यटन क्षेत्रका साथै यी देशका एयरलाइन्स सबैले लाभ उठाउने निश्चित छ ।

विश्वकपले पर्यटन प्रवर्धनमा धेरै सहयोग पुर्‍याए पनि आगामी वर्षहरुमा एसियाको सानो मुलुक कतारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन त्यहाँका अधिकारीहरुले कसरी रणनीति तयार गर्छन् भन्नेमा निर्भर रहन्छ ।

तस्वीरहरु : प्रमोदजंग रायमाझी/दोहा 

५ पुष २०७९