कुनै समय रोजगारी खोज्दै भौँतारिएका रोशनअहिले स्पार्क ग्रुपका सञ्चालक, ३ सय बढीलाई रोजगारी


सोनी शाही काठमाडौं । २९ माघ २०७९
स्पार्क ग्रुप पछिल्लो समय पर्यटन क्षेत्रमा चर्चित नाम हो । पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको यस समूहले साहसिक पर्यटनको क्षेत्रमा पनि काम शुरू गरेको केही समय भइसकेको छ । स्पार्क ग्रुपका अध्यक्ष हुन् रोशन घिमिरे ।
पर्यटन क्षेत्रमा आफ्नो बुवाको लिगेसी पछ्याउँदै अगाडि बढेका घिरिलेले स्पार्क ग्रुपमार्फत आफ्ना विभिन्न व्यवसायहरू अगाडि बढाइरहेका छन् । स्पार्क कार, रेन्ट कार लगायत उनले पछिल्लो समय स्पार्क ग्रुपमार्फत स्पार्क एडभेञ्चर समेत अगाडि बढाएका छन् । साहसिक पर्यटनका क्षेत्रहरूको खोजी गर्दै त्यसको प्रवद्र्धन तथा प्रचार गर्ने काम घिमिरेले स्पार्क एडभेञ्चरमार्फत गर्दै आएका छन् ।
पछिल्लो समय उनको परिचय व्यवसायीमा मात्र सीमित छैन । एक हिसाबले उनी सफल युवा व्यवसायी हुन् । कुनै समय रोजगारीका लागि काठमाडौंका कुना कुना चाहारेका उनी अहिले आफैं करिब ३ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्, त्यही पनि आफ्नै कम्पनीमार्फत ।
रोजगारी खोज्दै भौँतारिएको त्यो पल
ओखलढुङ्गामा जन्मिएका रोशन घिमिरेको बाल्यकाल सोलुखुम्बुमा बिताए । सोलुखुम्बुबाटै एलएलसीसम्मको अध्ययन सकाएका उनले कक्षा १२ अध्ययनका लागि काठमाडौं आए । वि.सं. काठमाडौंमा कक्षा १२ अध्ययन सकिएपछि उनले नेपाल आर्मीमा सेकेण्ड लेप्टनमा रोजगारीका लागि आवेदन दिए । यद्यपी उनी त्यहाँ सफल हुन सकेनन् ।
उनले जीवनकै पहिलो पटक रोजगारीका लागि प्रयास गरेका थिए । तर त्यसमा सफल हुन नसकेपछि उनी निकै दुःखी बने । आफूभन्दा अझ बढी उनको बुवा दुःखी बनेको रोशन सम्झन्छन् । बुवा दुःखी बनेको महशुस भएपछि उनलाई नरमाइलो लाग्यो । त्यसपछि उनी आफैं केही गर्छु भन्ने सोचले भौँतारिन थाले ।

रोजगारीकै लागि पत्रपत्रिकामा निस्किएका रोजगारीका अवसरहरूलाई पछ्याउन थाले उनी । तर त्यसमा पनि उनले रोजगार पाउने अवस्था देखिएन । यसपछि उनले आफ्ना आफन्तलाई रोजगारीका लागि भने । उनको बुवाले उनलाई रोजगारी भन्दा पनि अध्ययन पूरा गर्न लाग्नुपर्छ भन्ने मान्यता राख्थे । रोशनले बुवालाई नभनिकन रोजगारीका लागि पहल गरिदिन आग्रह गरे । त्यत्तिकैमा एक जनासँग उनको चिनजान भयो र रोजगारीका लागि उनी पुगे ।

काठमाडौंकै कुनै एक ट्राभल एजेन्सीमा उनले काम शुरू गरे । यो २०६४ को कुरा थियो । त्यहाँ काम गर्दै जाँदा उनी त्यहाँ सन्तुष्ट बनिरहेका थिएनन् । केही महिना त्यहाँ काम गरेका उनलाई नयाँ प्रस्ताव आयो कामका लागि । सोही एजेन्सीमा भेटिरहनेमध्ये एक जनाले आफ्नो कम्पनीमा काम गर्न उनलाई अफर गरे । रोशनले त्यो अफर सहजै स्वीकार गरे  । र शुरू गरे ठमेलको नेपाल ट्राभल एण्ड इभेन्ट कम्पनी प्रा.लि.मा । त्यस कम्पनीका सञ्चालक थिए उमेश श्रेष्ठ । त्यहाँ उनलाई ६ जना कर्मचारीको नेतृत्व गर्ने अवसर दिइयो । पहिलो दिनमै लिडर बनाइएका उनलाई त्यो काम चुनौती थियो । कतिपय कर्मचारीले त ‘लिडर’ भनेरै विश्वास नगर्ने अवस्था थियो । उनी सम्झन्छन्,‘उमेरकै हिसाबले पनि भर्खरको थिएँ, कामको हिसाबले पनि शुरूवात नै थियो, निकै चुनौती भयो ।’

तर, उनले त्यहाँ काम गर्दै गरे । जसले केही महिनामै उनी साँच्चै लिडर बने । अधिक मेहनतले उनलाई त्यहाँ निकै राम्रो अवसर प्राप्त भयो । कर्मचारीहरूले पनि विश्वास गर्न थाले । उनले त्यहाँ काम गरिरहेका थिए, इन्जोय पनि उस्तै थियो ।
एक दिन उनलाई उनको बुवाले रोयल माउन्टेन ट्राभलमा लिएर गए । त्यहाँ किन लगियो भन्ने आफूलाई जानकारी नै नभएको रोशन सम्झन्छन् । भित्र रोजगारीका लागि अन्तर्वार्ता चलिरहेको रहेछ । त्यो अन्तर्वार्तामा मलाई सहभागी गराइयो र प्रश्न सोध्न थाल्नुभयो । उनी भन्छन्,‘मैले पनि कन्फिडेन्टली जवाफ दिएँ । मलाई सेलेक्ट गर्नुभयो र भोलिदेखि नै काममा जाने कुरा भयो ।’ अन्तर्वार्ता सकेर काम नै निश्चित भइसकेपनि उनलाई त्यसमा रुची थिएन, न कुनै चाहना नै ।
उनको बुवाले उनलाई सो कम्पनीका काम गर्न निकै फोर्स गरे । यद्यपी रोशनलाई भने काम गरिरहेकै संस्थामा उनी इन्जोय गरिरहेका थिए । बुवाको करपछि रोशनलाई बेचैन भयो । त्यसपछि उनले त्यहाँ एक साताका लागि विदा लिए । र नयाँ कम्पनीमा मन नलागी नलागी काम गर्न गए ।
उनले त्यहाँ काम गर्दै गर्दा कम्पनी राम्रो लागेको सुनाए । त्यहाँ ५/६ जनाको मात्रै नेतृत्व गरिरहेका थिए । तर नयाँ कम्पनीमा त धेरै कर्मचारीको नेतृत्व गर्ने जिम्मा पाए उनले । पहिलो दिनदेखि नै ठूलो जिम्मेवारी पाएपछि उनले केही दिनमै नयाँ कम्पनीमा सिफ्ट हुने योजना बनाए ।
करिब तीन सय जनासँग घुलमिल हुन पाइने भएकाले पनि त्यो कम्पनी उनलाई राम्रो लाग्यो । त्यसपछि उनले उता छाड्ने र यता निरन्तरता दिने योजना बुने । बिदा सकेर उनी पूरानै कम्पनीमा गए । त्यसपछि उनले वास्तविक कुरा सञ्चालक श्रेष्ठलाई बताए । श्रेष्ठले सहजै उनलाई बिदा दिए । त्यसपछि उनले आफ्नो तेस्रो कम्पनीका रूपमा औपचारिक रोजगारी शुरू गरे रोयल माउन्टेन ट्राभलबाट । उनले त्यहाँ करिब ६ वर्ष काम गरे ।
त्यहीँ काम गर्दै गर्दा उनीहरूले विदेशबाट आएका पर्यटकहरूलाई यातायात व्यवस्था गरिदिन्थे । पोखरा, चितवन वा अन्य कतै जाने पर्यटकहरूलाई यातायातको व्यवस्था गरिदिने समेत उनीहरूले गरेका थिए । त्यतिखेर उनलाई यही क्षेत्रमा केही नयाँ गर्ने सोच बनाए ।
उनको बुवा पहिलेदेखि नै पर्यटन क्षेत्रमा काम गर्दै आएका थिए । पर्यटकका लागि यातायात व्यवस्थापन गर्ने काम गरिरहेका थिए उनका बुवाले ।
रोशन आफैं पनि ट्राभल क्षेत्रमा नै थिए । पछि रोशनलाई बुवाले गरिरहेको कामलाई व्यवस्थित गरे राम्रो व्यवसाय बन्ने सम्भावना देखे । सन् २०१० मा रोशनले ‘नबिल ट्रान्सपोर्ट सर्भिस’ कम्पनी खोल्ने तयारी गरे । धेरैबाट राम्रो रेस्पोन्स दिएको रोशन सम्झन्छन् । त्यसपछि पर्यटक यातायातको क्षेत्रमा केही नयाँ गर्ने अठोट लिए ।
पर्यटकका लागि यातायातको व्यवस्था गर्ने काम उनले विस्तारै शुरू गर्दै गए । कतिपय काम रोयल माउन्टेन्ट ट्राभलमै पनि गरेको उनी सम्झन्छन् । त्यसपछि उनले नबिल ट्रान्सपोर्टलाई अगाडि बढाएनन् । साथी पुरुषोत्तम पराजुलीसँग मिलेर उनले स्पार्क इन्टरप्राइजेज दर्ता गरेर काम शुरू गरे । जसले मुख्य काम पर्यटकहरूलाई घुम्नका लागि यातायात व्यवस्था गर्ने काम गर्न थाले ।
roshan ghimire
त्यसपछि शुरू भयो स्पार्क ग्रुप

स्पार्क इन्टरप्राइजेजमार्फत पर्यटकलाई यातायात व्यवस्था गरिरहेका रोशनले विस्तारै यही क्षेत्रलाई विस्तार गर्दै गए । पछि स्पार्क ग्रुप नै सिर्जना गरेर विभिन्न व्यवसाय उनले सञ्चालन गर्दै आएका छन् । विभिन्न उद्देश्य लिएर खुलेका कम्पनीहरू समेत स्पार्क ग्रुपमा राखिएको छ । स्पार्क ग्रुपमार्फत, स्पार्क कार, रेन्ट कार वीथ ड्राइभरसहितको सुविधा नेपालको ७७ वटै जिल्लामा उपलब्ध गराइएको छ । हरेक जिल्लाको मुख्य शहरहरूमा स्पार्क कार तथा रेन्ट कार ड्राइभरसहित उपलब्ध हुने कम्पनीका अध्यक्ष घिमिरे बताउँछन् ।
मुगु, हुम्ला, जुम्ला वा नेपालको जुनसुकै ठाउँमा गाडी चाहिएमा स्पार्क ग्रुपले गाडी उपलब्ध गराउँछ, जसलाई स्पार्क कारको नाम दिइएको छ ।
यस्तै, एक दिन वा एक महिना वा केही समयलाई ड्राइभर चाहिएमा पनि ड्राइभरमात्रै पनि कम्पनीले उपलब्ध गराउँछ । कम्पनीले ग्राहकको आवश्यकता अनुसार, गाडीमात्रै पनि उपलब्ध गराउँछ । जसलाई सेल्फ ड्राइभ भनिएको छ । विभिन्न शर्तहरूसहित गाडी उपलब्ध गराइने घिमिरे बताउँछन् । कम्पनीको गाडी आवश्यक परेमा कम्पनीको कल सेन्टर, मोबाइल एप वा इमेलमार्फत गाडी बुकिङ गर्न सकिनेछ । विवाह, घुमफिर जस्ता विशेष कामका लागि गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले गाडीहरूमात्र उपलब्ध गराउँदैन, स्पार्क अटो केयर पनि सञ्चालन गरिरहेको छ । जसमार्फत कम्पनीका गाडीहरू र अन्य कम्पनीका गाडीहरू पनि रिपेयर तथा मेन्टिनेन्सका काम गर्ने गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । यतिमात्र नभएर स्पार्क ग्रुपमार्फत स्पार्क एडभेञ्चर भनेर साहसिहक पर्यटन क्षेत्रको पनि व्यवस्थापन गरिरहेकमा छन्, घिमिरे । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई साहसिक पर्यटनमा संलग्न गराउने काम स्पार्क एड्भेञ्चरले गर्ने गरेको छ ।
साहसिक पर्यटनको क्षेत्रहरूको पहिचान गरि त्यसतर्फ पर्यटक आकर्षित गर्ने काम स्पार्क एड्भेञ्चरले गर्दै आएको अध्यक्ष घिमिरेले जानकारी दिए । विदेशी पर्यटक मात्रै नभएर नेपालकै खर्च गर्न सक्ने व्यक्तिहरूलाई नेपालका लुकेका ठाउँहरूमा लगिने प्रयास गरिएको उनले बताए । कम्पनीले अघिल्लो महिना मात्रै पनि लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ कार्यक्रम राखेको थियो ।
कम्पनीले सातै प्रदेशमा आफ्ना शाखासञ्जाल विस्तार गर्ने तयारी समेत गरेको छ । चालू आर्थिक वर्षभित्रै शाखा विस्तार गर्ने उनको भनाइ छ । कम्पनीमा अहिले एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, करिब ५ हजार जनशक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । कम्पनीले २४ सै घन्टा सेवा प्रवाह गर्ने गरेको छ । साथै बेसिकदेखि प्रिमियम लेभलका गाडीहरू कम्पनीले आवश्यकता अनुसार उपलब्ध गराउने सञ्चालक घिमिरे बताउँछन् ।
२९ माघ २०७९