कांग्रेससँग मिलेर चुनाव जिते, एमाले गठबन्धनको सरकारमा मन्त्री बने

छोरो मन्त्री बनेको खबरले भावुक बने बुवा


टुरिजम पाना संवाददाता काठमाडौं । ३ माघ २०७९

नेकपा माओवादी केन्द्रका नेता सुदन किराती संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री नियुक्त भएका छन् । भोजपुरबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित भएका किराती पर्यटनमन्त्री नियुक्त भएका हुन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा किरातीले नेपाली कांग्रेसको गठबन्धनसँगको सहकार्यमा चुनाव जितेका थिए । अहिले एमालेसँग गठबन्धन गरेर सत्तामा पुगेको माओवादी कोटाबाट उनी पर्यटनमन्त्री नियुक्त भए ।

किरातीले २०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीलाई हराएका थिए । अहिले कांग्रेसँगको गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका शेरधन राईलाई पराजीत गर्दै तेश्रो पटक संसद यात्रा तय गरेका हुन् । यसअघि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि भोजपुरबाट निर्वाचित भएका थिए ।

वि.स. २०३५ साल फागुन १२ गते भोजपुरको ओख्रेमा जन्मेका किराती २०४६ सालबाट राजनीतिमा सक्रिय भएका थिए । राजनीतिमा छोटो समयमै फड्को मारेका किराती २०५० सालमा स्कूल प्रारम्भिक कमिटीको (अनेरास्ववियू) को अध्यक्ष पदबाट राजनीतिमा शशक्त रुपमा होमिएका किराती विभिन्न राजनीतिक मुद्दा व्यहोर्दै २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित हुँदै भूमीगत राजनीतिमा प्रवेश गरेका थिए ।

सशस्त्र युद्धका क्रममा उनले पटक– पटक गरी २३ महिनासम्म जेल जीवन बिताएका थिए । मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव र अध्यक्ष समेत बने ।

२०७० सालमा नेकपा माओवादी केन्द्रको भोजपुर जिल्ला अध्यक्ष बनेका किराती २०७४ सालबाट भोजपुर जिल्ला पार्टी इन्चार्जको भूमिकामा समेत रहेर काम गरे ।

हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका उनी पोलिटव्युरो सदस्य समेत हुन् ।

छोरो मन्त्री बनेको खबरले भावुक बने बुवा

उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण विस्तारामा छन् । जब किरातीले आफू मन्त्री बन्ने खबर बुवालाई सुनाए । उनका बुवा भावुक बने । पहिलो पटक मन्त्री बन्न लागेपछि किरातीले बुवासँग भएको कुरा सामाजिक सञ्जाल पोष्ट गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।’

३ माघ २०७९