मलेसिया चार्टर्ड उडान तयारीपछि नेपाल एयरलाइन्सलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


टुरिजम पाना काठमाडौं । १३ चैत्र २०७९
bayu sewa nigam
फाइल तस्वीर

मलेसिया नियमित उडान गरिरहेको नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने तयारी गरेपछि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको छ।

प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै ‘प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो ?’ भनी स्पष्टीकरण सोधेको हो ।

नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ। उक्त रूटमा नियमित उडान सञ्चालन नगरी यात्रु चार्टर्ड उडान सञ्चालनको लागि अनुमति मागेपछि प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको हो।

हाल प्राधिकरणबाट स्वीकृत गृष्मकालीन उडान तालिकाअनुसार उक्त वायुसेवालाई काठमाडौं–क्लालाम्पुर–काठमाडौं रूटमा प्रतिहप्ता ५ घण्टा, काठमाडौं–क्लालाम्पुर–भैरहवा–काठमाडौं रूटमा प्रति हप्ता २ उडान रहेको छ।

तर, नेपाल एयरलाइन्सले भने नियमित उडान छोडेर चार्टर्ड उडान अनुमति माग गरेकाले स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ। निगमले हाल दैनिक मलेसिया उडान गर्दै आएको छ।

१३ चैत्र २०७९