नेपालको पर्यटन प्रवर्द्धनमा पहल गर्न नवनियुक्त राजदूतहरूलाई आग्रह


टुरिजम पाना संवाददाता काठमाडौं । १९ भाद्र २०८०

नेपालको पर्यटन प्रवर्द्धनमा पहल गर्नका लागि नवनियुक्त राजदूतहरूलाई सरोकारवालाहरूले आग्रह गरेका छन् ।

नेपाल पर्वतारोहण संघले सरकारले विभिन्न देशका लागि नियुक्त गरेको तीन राजदूतसँग नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे सोमबार छलफल गरेको हो ।

संघले फ्रान्सका लागि नेपालका नवनियुक्त राजदूत सुधिर भट्टराई, युएईका लागि नेपालका नवनियुक्त राजदूत तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि नेपालका नवनियुक्त राजदूत धनबहादुर ओलीसँग नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाले बताए ।

छलफलमा राजदूतहरूले नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोला, होटल एसोसिएसन अफ नेपालका अध्यक्ष बिनायक शाह, नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्ट्सका अध्यक्ष शिव अधिकारी, नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का महासचिव कुमारमणि थपलिया, एक्पिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष डम्बर पराजुली लगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

विशेष गरी प्राय: संघसंस्थाका अध्यक्ष तथा महासचिवको प्रतिनिधित्व रहेको यस कार्यक्रममा पर्वतारोहण पर्यटन प्रवर्द्धनका लागि विशेष छलफल समेत भएको थियो ।

 

१९ भाद्र २०८०