यी पर्यटन व्यवसायी, जसले पाए संसदमा प्रवेश


गोविन्द मरासिनी काठमाडौं । १२ मंसिर २०७९

गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा संघको निर्वाचनमा केहि पर्यटन व्यवसायीहरु चुनावी मैदानमा थिए । केहि व्यवसायी पुराना राजनीतिक दलबाट चुनावी मैदानमा थिए, भने केहि नयाँ दलबाट समेत चुनावी मैदानमा थिए । यसरी चुनावी मैदानमा रहेका केही पर्यटन व्यवसायीहरु भने जनताबाट निर्वाचित भएर संसदको यात्रा तय गरेका छन् ।

राजेन्द्र बजगाई (गोरखा–१)
गोरखा–१ बाट चुनावी मैदानमा रहेका व्यवसायी राजेन्द्र बजगाईले प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका छन् । विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध भई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत रहेका बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई पराजीत गर्दै संसदमा निर्वाचित भए ।

Rajendra bajgai

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका बजगाईले ३३ हजार ४ सय २८ मत पाउँदा प्रतिस्पर्धी बस्नेतले १६ हजार ७ सय ८५ मत मात्र पाए ।

धवल शम्शेर राणा (बाँके–२ )
राप्रपाको तर्फबाट उम्मेदवार रहेका धवल शम्शेर राणाले बाँके–२ बाट प्रतिनिधि सभामा निर्वाचित भए । नेपालगञ्जमा बाटिका होटल र बर्दिया राष्ट्रिय निकुञ्जमा रोयल एडभेञ्चर रिसोर्ट चलाउँदै आएका राणाले जसपा नेपालका मोहमद इश्तियाक राईलाई पराजीत गरे ।

Dhawal Shumshere Rana

राप्रपाबाट उम्मेदवार रहेका राणाले २९ हजार ५ सय ७७ मत पाउँदा राईले २३ हजार ५ सय २० मत पाए ।

बिनोद चौधरी (नवलपरासी –१ )
अर्बपति व्यवसायी समेत रहेका पर्यटन व्यवसायी बिनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यसअघि दुइपटकसम्म समानुपातिका सांसद बनेका चौधरी पहिलोपटक प्रत्यतर्फ चुनाव जितेका हुन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका चौधरी नवलपरासी क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित भएका हुन् ।

binod choudharyउनले जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीलाई पराजीत गरे । चौधरी २४ हजार ४ सय १५ मत पाउँदा त्रिपाठीले २३ हजार ३ सय ८ मत पाए । नेपालको पर्यटनको मुख्य आधार रहेको होटल व्यवसायमा चौधरीको ठूलो लगानी रहेको छ ।

योगेश गौचन थकाली (मुस्ताङ)
कांग्रेसको राजनीतिसँगै पर्यटन व्यवसायीको समेत छवि बनाएका योगेश गौचन थकाली मुस्ताङमा संघको चुनाव जिते । रोमी गौचन थकालीले आफू चुनाव लड्दै आएको क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै आफ्नै छोरा २८ बर्षीय गौचनलाई उम्मेदवार बनाएका थिए ।

yogesh gauchan thakali

थकालीले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरे । गौचनले ३ हजार ९ सय ९२ मत पाउँदा एमालेका तुलाचनले ३ हजार ७८ मत मात्र पाए । गौचन परम्परागत होटल व्यावसायदेखि पर्यटन व्यवसायमा जोडिएका हुन् ।

मनबहादुर गुरुङ (कास्की–१)
कास्की क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका मनबहादुर गुरुङ पनि प्रतिनिनिधि सभा सदस्यमा निर्वाचित भए ।

man bahadur gurung

पोखरामा होटल व्यवसायमा आवद्ध रहेका गुरुङले नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका किशोरदत्त बराललाई हराए । गुरुङले २५ हजार ७ सय ८ मत पाउँदा बरालले २३ हजार एक सय ८९ मत मात्र पाए ।

टेकबहादुर गुरुङ (मनाङ)
राजनीतिमा सक्रिय रहेका मनाङका पूर्व पर्यटन व्यवसायी टेकबहादुर गुरुङले मनाङबाट संघको निर्वाचन जिते । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजीत गरे ।

Tek B Gurung

टेकबहादुरले २ हजार ५ सय ७५ मत पाउँदा एमालेका छोपाङले २ हजार २ सय ४७ मत पाए । हाल उनको पर्यटन सम्बद्व व्यापार व्यवसाय उनको परिवारका सदस्यहरुले सम्हाल्दै आएका छन् ।

गणेश पराजुली (काठमाडौं–७)
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–७ मा उम्मेदवार बनेका पर्यटन व्यवसायी गणेश पराजुलीले ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । उनले गठबन्धन दलबाट उम्मेदवार रहेकी बाबुराम र हिसीला पुत्री मानुषी यमी र एमालेबाट उम्मेदवार रहेका श्यामकुमार घिमिरेलाई हराएका हुन् ।

ganesh-parajuli Elecated

पर्यटकीय नगरी ठमेलमा कफी सप र आयात, निर्यात लगायतका व्यवसायमा आवद्ध पराजुलीले ८ हजार ७ सय ४३ मतसहित विजयी हुँदा एमालेका घिमिरेले ६ हजार ८ सय र गठबन्धनकी यमीले ६ हजार ६३ मत मात्र पाईन् ।

दीपक खड्का (संखुवासभा)
नेपाली कांग्रेसको तर्फबाट संखुवासभमा प्रतिनिधि सभा सदस्य रहेका पर्यटन व्यवसायी दीपक खड्काले संसद यात्रा तय गरे । खड्काले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराए ।

दीपकले ३२ हजार १ सय ५८ मत ल्याए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत ल्याएका छन्। ट्राभल्समा लगानी गरेका पर्यटन व्यवसायी खड्काले होटलमा पनि लगानी गर्दै छन् ।

डा. टकराज गुरुङ र भेष बहादुर पौडेल (लमजुङ प्रदेशसभा क र ख)
एक निर्वाचन क्षेत्र रहेको लमजुङको प्रदेश सभा क र ख दुबैमा पर्यटन व्यवसायी निर्वाचित भए । गठबन्धन दल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका डा. टकराज गुरुङ प्रदेशसभा (क) र कांग्रेसकै तर्फबाट उम्मेदवार रहेका भेष बहादुर पौडेल प्रदेशसभा (ख) मा विजयी भएका हुन् ।

bhes bahadur paudel

गुरुङले एमालेका जमिन्द्रमान घलेलाई पराजीत गर्दा पौडेलले एमालेकै कृष्ण प्रसाद अधिकारीलाई पराजीत गरे । (क) मा कांग्रेसका गुरुङले १८ हजार ५ सय ४ मत पाउँदा एमालेका घलेले १७ हजार ३ सय ४३ मत पाए । यस्तै (ख) मा कांग्रेसका पौडेलले १९ हजार ५ सय ७७ मत पाउँदा एमालेका अधिकारीले १८ हजार ८ सय ३ मत पाए ।

चुनावी मैदानमा पर्यटन व्यवसायीहरु

१२ मंसिर २०७९