पर्यटकीय गन्तव्यले तानेको आन्तरिक पर्यटक


कृष्णचन्द्र न्यौपाने तनहुँ । २१ मंसिर २०७९
damauli

तनहुँका पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुन थालेका छन् । पर्यटकलाई लक्षित गरी नयाँ-नयाँ गन्तव्य थपिएपछि त्यस्ता गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।

खासगरी कोभिड-१९ को सङ्क्रमणको बीचमा जिल्लामा थपिएका पर्यटकीय गन्तव्यले प्रचारप्रसार पाउँदा त्यसको फाइदा अहिले भइरहेको बताइन्छ ।

घिरिङ गाउँपालिका-१ पुट्टारमा पर्यटक आकर्षित गर्न रूखमा पुल निर्माण गरिएको छ । शालिग्राम उद्यानभित्र रहेको रूखमा निर्माण गरिएको पुल पर्यटकको रोजाइमा पर्न थालेको छ ।

डिभिजन वन कार्यालयको १५ लाख सहयोगमा पुट्टार युवा क्लबले सम्झौता गरेर रूखमा पुल निर्माण गरेको सचिव मणि सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार यसमा स्थानीय उपभोक्ताले तीन लाख बराबरको श्रमदान गरेका छन् ।

‘शालिग्राम उद्यानभित्र केही नयाँ पूर्वाधार निर्माण गरौं भन्ने सोचका साथ दुई रूखलाई समेटेर फलामको पुल बनाएका हौँ’, उनले भने, ‘यो जिल्लामै नयाँ भएकाले यसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।’

जिल्लामा यसअघि म्याग्देमा रूखमाथि घर निर्माण गरिएको थियो । त्यसले आन्तरिक पर्यटकको ध्यान खिच्यो । फोटो तथा भिडिओ खिच्नका लागि पर्यटक त्यस ठाउँमा ओइरिए ।

रूखमाथि पुलले पनि आन्तरिक पर्यटकलाई यहाँसम्म डाेर्याउने सिग्देलको विश्वास छ । उद्यानभित्र दुबोलगायत विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी छ । साथै उद्यानलाई कम्पाउन्ड गरिनेछ । उक्त पुलमा एकैपटक १० जना चढ्न मिल्नेछ ।

डिभिजन वन कार्यालयले उद्यान निर्माणका लागि बजेट सहयोग गर्दै आएको छ । वनको रु १२ लाख ५० हजार सहयोगमा म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको उद्यानसहितको ‘ट्री हाउस’ ले निकै चर्चा कमाएको छ ।

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ ।

दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ । पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको छ ।

भिमाद नगरपालिका-९ मोहोरियामा एउटा अग्लो ढुङ्गा छ । ढुङ्गालाई सिङ्गारेर आकर्षण बनाइएको छ । वरिपरि उद्यान बनाइएको छ । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । गत वर्ष मात्रै अग्लो ढुङ्गा हेर्न १७ हजार पर्यटक पुगेका छन् ।

घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लो ढुङ्गा हो । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए तर, अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ ।

गण्डकी प्रदेश सरकारको रु २० लाखको लगानीमा उद्यान निर्माण गरिएको छ । उद्यान निर्माणका लागि स्थानीयले १० प्रतिशत लागत सहभागिता बेहोरेका थिए । ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको वडा सदस्य शिवकुमार आलेले बताए ।

उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ ।

घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । यहाँ पैदल मार्ग बनाइएको छ भने चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ ।

सूर्योदय र कुहिरोको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहानैको समयमा सूर्योदय र कुहिरो हेर्न सयाैंको सङ्ख्यामा पर्यटक मानुङकोट डाँडा पुग्छन् ।

अन्य दिनभन्दा शनिबार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिबारका दिन करिब पाँच हजार पर्यटक यहाँ पुग्छन् । चिसो मौसम सुरु भएसँगै अरू दिनको तुलनामा शनिबार पर्यटक बढी हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

२१ मंसिर २०७९