पर्यटक प्रहरीले मनायो ४४ औं स्थापना दिवस

आउँदा दिनमा पर्यटक प्रहरीलाई अझ सशक्त बनाईने


टुरिजम पाना काठमाडौं । १२ माघ २०७९

पर्यटक प्रहरीले ४४ औं स्थापना दिवस मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहीबार आयोजित एक समारोहबीच स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधि सम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरी समेत विमोचन गरे । उक्त अवसरमा माननीय मन्त्री किरातीले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सिमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै पर्यटक प्रहरीलाई आउँदा दिनमा अझ सशक्त बनाउँदै लैजानुपर्ने बताए ।

कार्यक्रममा माननीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गर्दै पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोही अनुरूप आगाडि बढ्नुपर्ने बताईन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाईको रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए ।

पर्यटकलाई सेवा विस्तार सँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उजले उल्लेख गरे । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

१२ माघ २०७९