त्रिशूली नदी नै थुनेर दोहन, जल पर्यटनमा गम्भीर असर परेको भन्दै आपत्ती


टुरिजम पाना गोरखा । २७ फाल्गुन २०७९

गोरखाको सहिद लखन गाउँपालिकाको लेवाटारमा रहेको बगरको ढुंगा, बालुवा र गिटी ठेकेदारले त्रिशूली नदी नै थुनेर बाटो बनाएर दोहन गरेपछि पर्यटन सम्बद्ध बिभिन्न संघसंस्थाले त्यसको विरोध गरेका छन् ।

ढुंगा, बालुवा र गिटी निकाल्ने नाममा त्रिशुली नदीनै भविष्यमा संकटमा पर्न सक्ने भन्दै पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले आपत्ती प्रकट गर्दै विरोध जनाएका हुन् । उनीहरुले यस्तो कार्य तत्काल बन्द गरिनुपर्ने समेत बताएका छन् ।

सहिद लखन गाउँपालिकाले ठेक्का लगाएको गिट्टी ढुंगा ओसारेर चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार हुँदै तार्न नदी नै थुनेर कच्ची बाटो नै निर्माण गरेपछि नेपाल र्‍याफ्टिङ एण्ड क्यानोनिङ एसोसिएसन, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), हिमालयन रिभर गाइड एसोसिएसन अफ नेपाल र नेपाल नदी संरक्षण कोष लगायतका संघ संस्थाले जथाभावी नदी मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका हुन् ।

त्रिशूली नदी र्‍याफ्टिङका लागि महत्वपूर्ण छ । बर्षेनी लाखौंको संख्यामा विदेशी पर्यटकहरु नेपाली पर्यटकहरु र्‍याफ्टिङमा रमाउने गरेका छन् । हिमालयन रिभर गाईड एसोसिएसनका उपाध्यक्ष डोल बहादुर गुरुङ भन्छन्, ‘ यसरी खोलामा जेसिबी, डोजर कुदेको देख्दा पर्यटकहरुलाई के सुन्दरता देखाउने, पर्यटकहरु नेपाल आउने भनेको नै सुन्दरता हेर्नका लागि हो, यसमा राज्यको ध्यान जाहोस् ।’ बालुवा गिटीको नाममा यसरी नदी नै जोखिमममा हाल्नुको साटो कुनै पहरा फोरेर पनि बालुवा गिटी निकाल्न सकिने उनको तर्क छ ।

विदेशतीर कृतिम नदी ताल बनाएर र्‍याफ्टिङ गरिरहेका हुन्छन्, हाम्रोमा नेचुलर नै भएको पर्यटकीय नदीलाई बिगार्नु निकै दुखद् रहेको बताउँछन् नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङका महासचिव सुदिप राज गौतमले टुरिजमपानालाई बताए ।

त्रिशूली नदी ऐतिहासिक नदी भएको अहिले बालुवा, गटी निकालेको ठाउँको पारीपट्टी पृथ्वी उत्पती भएपछि हालसम्म बचिराखेको रिभर बीच  बचिरहेको र त्यो बीच पनि मासिने खतरा रहेको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले बताए । प्रकृति नदीलाईलाई मास्ने हो भने प्राकृतीक सम्पदा नै सकिने खतरा हुने र भविष्यमा मानव सहित जीवित चीज र वस्तुहरूको लागि ठूलो समस्या र असर हुने अधिकारीको भनाइ छ ।

यसरी प्राकृतीक श्रोत, सम्पदा, धार्मिक स्थल र हेरिटेज रिभरको संरक्षणमा सबै लाग्नुपर्ने भन्दै आफूहरु यस कार्य तत्काल रोक्नका लागि तत्पर रहेको र सम्बन्धित पक्षसँग आफूले पनि छलफल गरिरहेको अधिकारीले टुरिजमपानालाई बताए । उनका अनुसार सहिद लखन गाउँपालिकाले जम्मा १८ लाखमा ठेक्का सम्झौता गरेकोले बरु यस ठाउँलाई सुकुटे बीच जस्तै पर्यटकीय गन्तब्य बनाउन सबै लाग्नुपर्ने र नाराले सबै हिसाबले सहयोग गर्न प्रतिबद्ध रहेको छ ।

गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवं पर्यटन व्यवसायी राजेन्द्र बजगाईले पनि रिभर कन्जरभेशन, नदी पर्यटन र गाऊँ जोखिममा परेको भन्दै चासो व्यक्त गरेका छन् । प्रत्यायोजित अधिकार प्रयोग गरेर ठेक्का लगाएको दावी गर्दै गर्दा स्थानीय ठेवाटार वासिन्दाले असहमति प्रकट गरेको भन्दै प्रदेश सांसद नन्द प्रसाद न्यौपाने सहितको टोलीले सत्यतथ्य बुझ्नका लागि स्थलगत अवलोकन नै गरेको जनाएका छन् ।

स्थलगत अवलोकनमा सांसद बजगाईको टोली ।

ठेक्का आईंई प्रतिवेदनमा लागिएको पालिकाको दावी रहेको स्थानीयको सहमति नभएकोले यस बिषयमा सरोकार निकायसँग व्यापक छलफल जरुरी रहेको उनको तर्क छ ।

शहीद लखन गाउँपालिकाले त्रिशूली बगरको ढुंगा, बालुवा उत्खननको ठेक्का सिन्धुपाल्चोकको बलेफी ३ को त्रियुग निर्माण सेवालाई दिएको थियो । आफूले ठेक्का पाएको ठाउँको नदीजन्य पदार्थ उत्खनन् गरेर चितवनतर्फ ल्याउन नदी नै बन्द गरेर बाटो नै निर्माण गरेको छ ।

नदीको धार नै परिवर्तन गर्ने गरी बाटो बनाउन थालेपछि इच्छाकामाना गाउँपालिकाले उक्त काम रोक्न सहिद लखन गाउँपालिकालाई पत्रचार नै गरिसकेको छ तरपनि उक्त कार्य रोकिएको भने छैन् । यसमा स्थानीयहरुले समेत विरोध गरेका छन् । तैपनि सस्तोमै ठेक्कामा पाएको निर्माण कम्पनीले त्रिशूली नदीनै जोखिममा पर्ने गरी उत्खनन गरिरहेको छ ।

२७ फाल्गुन २०७९