एड्भेन्चर हब बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट


निमा योञ्जन काठमाडाैं । २१ कार्तिक २०७९
rafting in trishuli

एक दशकभन्दा लामो समयदेखि र्‍याफ्टिङ, क्यानोइङ, कायाकिङ सञ्चालन गर्दै आएको पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमाथि जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याएको छ ।

काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा आएको रिसोर्टका सञ्चालक उद्धव कंडेलले बताए ।

स्काई साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबै जना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काई रोप साइक्लिङ भएको कंडेल बताउँछन् ।

दुईतर्फी दूरी ३ सय ५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ती एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप ५ सय रुपैयाँ लाग्ने कंडेलले जानकारी दिए ।

रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरि नै बनाइएको छ ।

रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने रिसोर्टका सञ्चालक उद्धव कंडेलले बताए ।

जिपलाइन गरेर नदि पार गर्ने पर्यटक स्काई साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।

पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भइरहेको कंडेल बताउँछन् ।

जिपलाइन र स्काई रोप साइक्लिङको लागत करिब २ करोड रुपैयाँ रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लैजाने कंडेलले बताए ।

२१ कार्तिक २०७९