सफारी टेन्ट थप्दै त्रिशुली रिभरसाइड रिसोर्ट


त्रिशुली रिभर साइड रिसोर्टले सफारी टेन्ट थप गर्ने भएको छ । पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै रिसोर्टले १५ वटा सफारी टेन्ट राखिरहेको रिसोर्टका सञ्चालक उद्धव कँडेलले टुरिजम पानालाई जानकारी दिए ।

उनका अनुसार, अहिले सफारी टेन्टका लागि धमाधम काम भइरहेको छ । अबको दुई सातापछि सफारी टेन्ट सञ्चालनमा ल्याइने रिसोर्टको तयारी छ ।

यसअघि सामान्य टेन्ट र सुविधासम्पन्न कोठाहरूमा बस्दै आएका पर्यटकहरूले अब रिसोर्टमा आफ्नो इच्छाअनुसार सफारी टेन्टमा बस्न सक्नेछन् । सफारी टेन्टमा बस्नका लागि २ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति शुल्क लाग्ने रिसोर्टले जनाएको छ । जसमा ब्रेकफास्ट, लञ्च, स्याक्स र डिनरको व्यवस्था हुनेछ ।

करिब ५० लाख रुपैयाँ लगानीमा रिसोर्टले सफारी टेन्ट राख्न लसागेको हो । यसअघि पर्यटकहरूले टेन्टमा बस्न खोजेपनि सामान्य टेन्टमा मन नगरेकाले सफारी टेन्ट राख्न लागिएको रिसोर्टका सञ्चालक कँडेलले जानकारी दिए ।

उनका अनुसार, सफारी टेन्टमा भित्र बत्तीहरू पनि जडान गरिनेछ । यस किसिमको टेन्टलाई आधुनिक टेन्टको रुपमा पनि लिइन्छ ।

सफारी टेन्टमा ४ जनासम्म बस्न सकिने रिसोर्टले जनाएको छ । पारिवारिक रुपमा घुमघाम गर्न जाने वा साथीभाइहरू घुम्न जानेहरूका लागि पनि यो विशेष सुविधा हुने रिसोर्टले जनाएको छ ।

साथै, कँडेलले त्रिशुली नदी पारी नयाँ होटल रिभर साइड रिट्रिट सञ्चालन गर्ने तयारी गरेका छन् । आगामी महिनादेखि सो होटल सञ्चालनमा आउने उनले जानकारी दिए ।

रिसोर्ट त्रिशुली नदीमाथि जिपलाइन तथा स्काई साइक्लिङ र र्‍याफ्टिङका लागि चर्चित रहेको छ ।

१४ माघ २०७९