ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै


टुरिजम पाना काठमाडौं । । २५ मंसिर २०७९

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्न लागिएको हो ।

चालू आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

कूल रु पाँच करोड लाग्ने अनुमानअनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ ।

त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरि बजेट विनियोजन गरेको छ ।

दुई वडाका गाउँलाई ३० लाख रुपैयाँका दरले साठी लाख रुपैयाँ बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ । कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिए ।

उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुनेछन् । उनले भने, ‘त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेका छौं ।’ रासस

२५ मंसिर २०७९