फुटपाथ पैदल यात्रीकालागि हो: बालेन


टुरिजम पाना काठमाडाैं । १३ आश्विन २०७९
असन इन्द्रचाेक

काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिइने कार्यक्रमलाई निरन्तर्ता दिँदै चाडवाडको समयमा पनि महानगर लचिलो नहुने जनाएको छ ।

बिहीबार सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार हुने र पर्व विशेष वा अन्य कारण विशेष फुटपाथमा व्यापार गर्न नपाइने कुरालाई स्पष्ट पारेका छन् ।

‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ,’ उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ‘यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छाैँ ।’

आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको महानगरले जनाएको छ ।

‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो,’ विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’

यस्तै, सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१३ आश्विन २०७९