नेपालमा इनड्राइभले सुरू गर्‍यो औपचारिक रूपमा व्यवसाय


टुरिजम पाना संवाददाता काठमाडौं । २४ बैशाख २०८१

राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको हो ।

यससँगै कम्पनीले चालकबाट १० प्रतिशत कमिसन लिन सुरू गरिएको जनाएको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले अबदेखि १० प्रतिशत कमिसन लिने इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार इनड्राइभले काठमाडौंका साथै पोखरा र चितवनमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।

यस्तै इनड्राइभले काठमाडौंमा ट्याक्सी, मोटरसाइकल, डेलिभरी, एक शहरदेखि अर्को शहर सेवाहरू प्रदान गर्ने जनाएको छ । यका साथै इनड्राइभ चढ्‍ने यात्रु र चालक दुवैले एक अर्काको रेटिङ र उनीहरूले गरेका यात्राका आधारमा कोसँग यात्रा गर्ने भनेर छान्न सक्‍नेछन् ।

यात्रुले सवारीको समयमा एपमा लाइभ राइडिङ विवरण सेयर गर्न मिल्‍ने र सेभ आवर सोल्स बटनको समेत सुविधा रहेको कम्पनीले जनाएको छ । यतिमात्रै नभएर अप्रत्याशित परिस्थिति आइपरेमा यात्रुले चाँडै सहयोग पनि लिन सक्‍ने कम्पनीले जनाएको छ ।

इनड्राइभले यात्रुका लागि बीमाको व्यवस्थाका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । कार्यक्रममा इनड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स प्रमुख पवितनन्दा आनन्दले आफूहरूका लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।

२४ बैशाख २०८१