चिनियाँ नागरिक घुम्न मिल्ने गन्तब्य सूचीमा नेपाल पनि समावेश


टुरिजम पाना काठमाडौं । २७ फाल्गुन २०७९
फाइल तस्वीर

चीनले आफ्ना नागरिकको लागि खुल्ला गरेको दोस्रो चरणको गन्तब्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ ।

यसअघि गत माघ दोश्रो सातातिर पहिलो चरणमा नेपाल समावेश नभएकोमा पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो । मार्च १५ गतेदेखि खुला गरिएको उक्त सूचीमा नेपाल सहित ४० देश संलग्न रहेका छन् ।

यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरिएको हो । शुक्रबार बेइजिङस्थित नेपाली दूतावासले पनि सूचीमा नेपालसहित २० मुलुक समेटिएको पुष्टि गरेको छ।

कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित पर्यटकीय एजेन्सीहरूले होटल, एयर टिकट लगायत व्यवस्थापन गर्नसक्ने सूचना जारी गरिएको माइक्रोब्लग वेइपोमा उल्लेख छ। कोरोना महामारी फैलिएपछि चीनले सन् २०२० को जनवरीदेखि आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न रोक लगाएको थियो ।

२७ फाल्गुन २०७९