नाट्टाको कार्यालयमा जोटुफको तालाबन्दी, बार्ता छाडेर तालाबन्दीमा उत्रेको नाट्टाको आरोप


टुरिजम पाना काठमाडौं । २७ फाल्गुन २०७९

संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्यालयमा तालाबन्दी गरेका छन्।

गत २०७९ भदौ २९ गते श्रम ऐन २०७४ को दफा ११६ (ख) बमोजिम संयुक्त ट्रेड युनियन फोरम (जोटुफ) ले श्रम नियमावली २०७५ दफा ६७ बमोजिमका टुर क्षेत्रका रोजगारदाताहरुको संघ नाट्टा मा मागपत्र पेश गरेको ५ महिना बितिसक्दा पनि सम्म नाट्टाले बेवास्ता गरेको र विभिन्न चरणमा छलफल गर्दा पनी निष्कर्ष निकाल्न नसकेको कारण तालाबन्दी गरिएको जोटुफले जनाएको हो ।

टुर एन्ड ट्राभल क्षेत्रका व्यवसायीहरुको छाता संगठन नाट्टामा बिहीबार भएको दुई पक्षीय वार्ता नमिलेपछि मजदुर आबद्ध विभिन्न संघ–संगठनहरूले संयुक्त रूपमा शुक्रबार ताला लगाएका हुन्। टुर एन्ड ट्राभल क्षेत्रमा क्रियाशील मजदुरहरुको ५० प्रतिशत तलब वृद्धि गर्नुपर्ने मुल माग रहेको छ । सम्झौताअनुसार अहिलेको परिस्थितिमा काम गर्न नसक्ने भएकोले तलबमा पुनर्विचार गर्नका लागि पटक–पटक दबाब दिँदा पनि बेवास्था गरेको कारण तालाबन्दी गरिएको जोटुफले बताएको छ ।

यता, नाट्टाले कार्यालयको काममा अबरोध सिर्जना नगर्न जोटुफलाई आग्रह गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । विगत केहि समय देखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नाट्टासंग केहि मागहरु राखि वार्ता गरिरहेकोमा नाट्टाले आफूसंग सम्बन्धित मागहरु पुरा गर्न तत्परता देखाइरहेको अवस्थामा नै जोटुफले तालाबन्दी गरेको नाट्टाको आरोप छ ।

नाट्टाले नेपालको पर्यटन प्रवर्द्धनका लागि क्रमबद्ध गतिविधि गरिरहेको र निकट भविष्यमा चाइना सेल्स मिशन, अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट सेल्स मिशन, अन्तर्राष्ट्रिय स्तरको बृद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट बिआइटिएम लगायत महत्वपूर्ण पर्यटन प्रवद्धर्नात्मक कार्यक्रमहरु आयोजना गर्न नाट्टाले दिनरात काम गरिरहेको समयमा कार्यालयमा तालाबन्दि गरिनु गम्भीर विषय रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

२७ फाल्गुन २०७९