गोरखा दरबार संग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ। शैक्षिक भ्रमणको याम सुरु भएसँगै संग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढेको हो।
गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आउनु र बिधार्थीको भ्रमण बढ्नुले गोरखा संग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो।
विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा संग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभएको छ । ‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरिसकेका छन्, पछिल्लो समय संग्रहालय घुम्न आउनेहरूमा अधिकांश शैक्षिक भ्रमणमा आउने विद्यार्थी छन्’, वहाँले भन्नुभयो ।
गएको कात्तिक महिनामा मात्र १४ हजार तीन सय ८० जनाले संग्रहालय अवलोकन गरेका छन् । त्यस्तै गएको साउनमा छ हजार दुई ४९, भदौमा चार हजार आठ सय ४९, असोजमा पाँच हजार तीन सय नौजनाले संग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्याङ्क छ। मङ्सिरमा २० हजारभन्दा बढीले संग्रहालय अवलोकन गर्ने अनुमान गरिएको छ।
संग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ। ‘संग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बधित ऐतिहासिक वस्तुको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ, गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा संग्रहालयको अवलोकन गर्न आइपुग्छन्’, प्रमुख अधिकारीले भने।
मुख्य गरी हरेक वर्षको कात्तिकदेखि पुससम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ। तल्लो दरबारको नामले चिनिने गोरखा संग्रहालय भएको भवन आफैँमा पनि परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेकाले त्यसको अवलोकनसमेत शैक्षिक भ्रमणमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
संग्रहालयमा पृथ्वीनारायण शाहको ५२ हात लामो चिनासहित तैलचित्र कक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचात्मक कक्ष, भाँडावर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ प्रदर्शनी कक्षसमेत प्रदर्शनीका लागि राखिएको छ।