१४ बुँदे घोषणापत्र जारी गर्दै ‘अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन’ सम्पन्न


टुरिजम पाना संवाददाता काठमाडौं । २१ फाल्गुन २०८०
१४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै अपाङ्गता भएका महिलाहरूको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
‘मलाई पनि तिमिसँगै गणना गर: मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ काठमाडौंमा शुक्रबारदेखि आयोजना भएको यस सम्मेलन १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।
सम्मेलनको समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचका लागि आयोगले काम गरिरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागि बनाइएका ऐनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
अपाङ्गता भएका महिलाहरूको विविधता, अन्तरसम्बद्धता सवाल, अर्थपूर्ण सहभागीता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याहरूको पहिचान गरी सोको सम्बोधनको लागि निति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उद्देश्यका साथ सम्मेलन गरिएको हो ।
अपाङ्गता भएका महिलाहरुको मानवीय र अशक्तताको आधारमा रहेको विविधतालाइ सम्बोधन गर्न मानव अधिकारमुखी अवधारणा र यसका लागि अन्तरविविधता/अन्तरच्छेदीय दृष्टिकोणको आवश्यकता छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको ‘लिभ नो वन बिहाइण्ड’का सन्दर्भ नेपाल ढाँचा प्रतिवेदन २०२३ मा यस दृष्टिकोणको अवलम्बनको आवश्यकतालाई उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।
‘त्यसैले नेपालका तीनै तहका सरकारले अन्तरविविधता/ अन्तरच्छेदीय दृष्टिकोणको कार्यान्वयनका लागि कानुन तथा नीति तर्जुमा गरी कार्यान्वयनको सुनिस्चितता गर्न गराउन माग गर्दछौं, घोषणापत्रमा भनिएको छ ।
यस्तै विद्यालयका पाठ्यक्रममा अपाङ्गता सम्बन्धी विषयलाई समावेश गर्दै शिक्षाबाट बन्चित गरिएका अपाङ्गता भएका महिलाहरुको लागि “स्कुल- आउट टिच” जस्ता कार्यक्रम ल्याउने र अपाङ्गता भएका महिलाहरू र किशोरी अभिभावकलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, हिंसा र विभेद न्यूनीकरण सम्बन्धि तालिम दिनका लागि सम्मेलनले माग गरेको छ ।
सात वटै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका सँस्थाका प्रतिनिधि गरि १ सय २० जना बढी सम्मेलनमा सहभागी भएका थिए ।
सो सम्मेलनबाट नेपाल भित्र तीनै तहका ७ सय ६१ वटा सरकार, मानव अधिकारवादी संस्थाहरू, नागरिक समाज लगायतको ध्यानाकर्षण गराउँदै विभिन्न माग समेटेर अपाङ्गता भएका महिलाहरूको काठमाडौं घोषणापत्र जारी गरिएको छ ।
सम्मेलनमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
२१ फाल्गुन २०८०