नागढुङ्गा सुरुङमार्गको ४९.०३ प्रतिशत काम सम्पन्न


टुरिजम पाना काठमाडौं । १० फाल्गुन २०७९

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको काम ४९.०३ प्रतिशत सकिएको छ । त्यस्तै, आयोजनाको वित्तीय प्रगति ५३.९५ रहेको आयोजनाले जनाएको छ ।

२०७६ असोजमा हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण पूरा गर्नेगरी सम्झौता भएको भए पनि कोभिड लगायतका समस्याले काम नसकिएपछि सुरुङमार्ग निर्माण गर्न २५ अप्रिल २०२४ सम्मका लागि म्याद थप गरिसकेको छ ।

आयोजनअन्तर्गत सुरुङ खन्ने काम भने ७४.२० प्रतिशत पूरा भइसकेको छ । २ हजार ६ सय ८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङको १ हजार ८ सय १३ मिटर खनिसकिएको छ भने २ हजार ५ सय ५७ मिटरको सहायक सुरुङ २ हजार ६९.८० मिटर खनिएको छ ।

१ सय २८ मिटर खन्नुपर्ने क्रस प्यासेज ७४.२० मिटर खनिएको छ । आयोजनाका अनुसार, १ सय २६ मिटर वर्किङ अडिटको काम सम्पन्न भइसकेको छ । सुरुङमा कंक्रिट लाइनिङको कार्य ३४.४० प्रतिशत सम्पन्न भइसकेको छ ।

सुरुङबाहेकका तीनवटा अण्डर पास, चारवटा बक्स कल्भर्ट, एउटा ओभर पास र तीनवटा पुलको निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । त्यसैगरी एउटा फ्लाइओभरको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ । सुरुङमार्गका सम्पूर्ण संरचनासहित समग्र भौतिक प्रगति भने ४९.०३ प्रतिशत मात्र रहेको आयोजनाले जनाएको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी निर्माण संस्था हाज्मा आङ्द्रो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले १६ अर्ब ऋण सहयोग गरेको छ भने ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ ।

यससम्बन्धी हाम्रा थप समाचार :

फेरि थपियो नागढुङ्गा सुरुङमार्ग निर्माणको म्याद, कहिले सकिएला ?

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माणको काम पुनः रोकियो

समयमै पूरा नहुने भयो नागढुङ्गा सुरुङ, जग्गा प्राप्ति मुख्य समस्या

१० फाल्गुन २०७९