नयाँ वर्षमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा, नयाँ सरकारप्रति व्यवसायी आशावादी


टुरिजम पाना काठमाडौं । १७ पुष २०७९

नयाँ वर्ष (सन् २०२३) को शुरू भएसँगै नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह देखिएको छ ।

कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्रले २०२२ मा केही हदसम्म लय लियो । पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले थप उत्साह थपेको हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आउँदा दुई लाख ३० हजारमा खुम्चियो ।

त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक मात्र नेपाल आए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो । आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीहरूले पनि सकारात्मक आशाको अपेक्षा गरेका छन् ।

यसै सन्दर्भमा पर्यटनसँग सम्बन्धित संघ, संस्था र व्यवसायीले सन् २०२२ लाई कसरी नियाले ? अब २०२३ मा उनीहरुको योजना के छन् ? यी र यस्तै विषयमा टुरिजम पानाले केही सरोकारवालासँग गरेको कुराकानी उनीहरूकै शब्दमा

बिनायक शाह, प्रथम उपाध्यक्ष–होटल एसोसिएसन अफ नेपाल (हान) 

२०२१ को तुलनामा २०२२ पर्यटनको दृष्टिले केही हदसम्म राम्रो रह्यो । पर्यटनको हिसावले सबैभन्दा ग्रसित क्षेत्र भनेको होटल व्यवसाय क्षेत्र नै हो । नेपाली नयाँ वर्ष २०७९ शुरू भएपछि कोभिड पनि केही मात्रामा घट्यो जसका कारण पर्यटन बजार चलायमान भयो ।

कोभिड पहिलाको जस्तो तुलनामा नभएपनि सुधार उन्मुख भएको छ । काम गर्ने आत्मविश्वास बढ्यो भने काम गर्ने ढोका पनि खुल्यो । आउँदा दिनमा पनि सुखद् होला भन्ने अपेक्षा छ । नयाँ सरकार पनि गठन भएको छ । हामी आर्थिक संकटमै छौं । नयाँ सरकारले पुरानो सरकारले नसुनेका हाम्रा माग सुन्ला भन्नेमा पनि आशावादी छौं ।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढेको खण्डमा पर्यटन क्षेत्र मात्र नभई समग्र आर्थिक क्षेत्रमै सुखद् नतिजा आउने अपेक्षा गर्न सकिन्छ । नेपाल आउने पर्यटकलाई अन्यत्रभन्दा राम्रो छ भनेर सरकारले पनि विदेशी पर्यटकलाई आश्वस्त पार्ने गरि काम गर्नुपर्छ । हामी आन्तरिक र वाह्य पर्यटक दुबैलाई स्वागत गर्न तयार छौं ।

शिव अधिकारी, अध्यक्ष नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)

र्‍याफ्टिङ पर्यटनका लागि २०२२ त्यती उपलब्धीपूर्ण भएन । कोरोना, रसिया युक्रेन युद्ध, डेंगुको कारणले जति आउनुपर्ने हो त्यती पर्यटक आएको देखिन्न । यस्तै अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नेपाल उडान नियमित रुपमा नहुनु, भएपनि महँगो हुनुले यो क्षेत्रमा सोचेजस्तो आकर्षण गर्न सकेनौं ।

कुनैपनि पर्यटकले टुर जानुभन्दा त्यहाँको हवाई टिकट फेयर पनि हेर्ने गर्छ । अहिले हामीले हेर्‍यौं भने नेपालको सबैभन्दा महँगो छ । ३/४ वर्ष पहिले तिर्नेभन्दा अहिले दोब्बर, तेब्बर महँगो देखिएको छ । जसका कारण सोचेजस्तो पर्यटक बढाउन सकेका छैनौं । विगत लामो समयदेखि र्‍याफ्टिङ पर्यटनमा पर्यटकको संख्या दिनानुदिन घटिरहेको छ । तर नेपाली पर्यटकको कारणले मात्र र्‍याफ्टिङ पर्यटन धानिरहेको अवस्था जुन सुखद् पक्ष पनि हो ।

राज्यको अनुगमन गर्ने, ब्राण्डिङ गर्ने, प्रचारप्रसार गर्ने निकायले र्याफ्टिङको बारेमा नबुझ्नु, ध्यान नदिनु, सरोकार नराख्ने लगायतका बिषयले २ दशकमा र्‍याफ्टिङका कम्पनीले ५० प्रतिशतले कम भएको अवस्था छ । खोलाहरूमा भएको प्रदुषण, राज्यले ध्यान नदिनु, स्थानीय सरकारले पनि चासो नदिने, व्यापारीहरू पनि सचेत नहुनु लगायतका कारणले यो अवस्था सिर्जना भएको हो । यो क्षेत्रमा पर्यटक वढाउन बिभिन्न देशमा गएर हाम्रो र्‍याफ्टिङको बारेमा बुझाउन जरुरी छ । राज्यले गर्नुपर्ने धेरै काम नाराले गरेको छ ।

प्रत्येक वर्ष रिभर गाइड टेनिङ दिएर लाइसेन्स प्राप्त नगरुन्जेल तालिम दिँदै आएका छौं । २०२३ मा पर्यटन क्षेत्रलाई चलायमान बनाउन हामीले पर्यटन बोर्ड र राज्यलाई २र४ जना कर्मचारी विदेश पठाएर मात्र हुँदैन, सम्बन्धित संघ, संस्थाका प्रतिनिधि, व्यापार उद्यम, सरोकारवालाहरू र विभिन्न क्षेत्रका विज्ञलाई विकशित देशमा पठाउन सहकार्य गर्ने र प्रमोसन गर्ने हो भने यस क्षेत्रमा पर्यटक अझ धेरै भित्राउन सकिन्छ ।

अरनीको राजभण्डारी, अध्यक्ष–रेष्टुरेष्ट एण्ड वार एसोसियसन (रेवान)

कोरोनाको महामारी सकिएर स्थिति केही सहज बनेपछि चहलपहल बढेको छ । जसको कारण केही हदसम्म राहत मिलेको छ । तर, राष्ट्र बैंकको नीतिले गर्दा आर्थिक मन्दी जस्तै भएको छ । यसले हामीजस्ता व्यवसायीलाई असर गरेको छ ।

२/३ वर्ष नै कोरोनाको असर परेको थियो, जब चहलपहल हुन थालेको थियो, राष्ट्र बैंकले अर्को कोरोना निम्ताएको छ । आर्थिक मन्दीका कारण सबै क्षेत्रमा असर त पर्छ नै, यस्तो अवस्थामा सबैभन्दा पहिला व्यक्तिले कटौती गर्ने भनेको नै भेटघाट, जमघट हो । यो कम भएपछि प्रत्यक्ष असर पर्ने भनेको रेष्टुरेण्टमा नै हो ।

बैंकको नीतिले अल्छी बनाउनुका साथै बजारमा आर्थिक मन्दी निम्तायो । फिक्स डिपोजिटको रेटदर बढ्दा बजारमा पैसा आएन भने ऋण लिनका लागि पनि चर्को व्याजदर तिर्नुपर्ने हुँदा व्यवसायमा आवद्धहरू मर्कामा परेका हौँ । पर्यटन गतिविधिलाई बढाउने क्रममा रेवानले पोखरामा फेस्टिबलको समेत आयोजना गरेको छ, यसमा पनि निजी क्षेत्र र वित्तीय क्षेत्रले असहयोग गरिरहेका छन् ।

यसरी आफूहरु पनि केही नगर्ने भएका गतिविधिमा पनि असहयोग गर्नाले पर्यटनमा असर पर्ने देखिन्छ । नयाँ सरकारले हाम्रो पक्षमा पनि केही गर्ला कि भन्ने छ । सरकारले आर्थिक मन्दीबाट बाहिर निकाल्न पहल गरोस् भन्ने हाम्रो माग छ ।

देवेन गिरी, पर्यटन व्यवसायी

२०२२ मा थुनिएको पर्यटन बजार थोरै भएपनि चलायमान बन्यो । कोभिडपछि २०२२ मा थोरै राहत भएजस्तो भयो, तर सोचेजस्तो टुरिजमको विकास भने हुन सकेन् । २०२२ जे जस्तो भएपनि २०२३ चाहि राम्रो बनाउने प्रयास हामी व्यवसायीको तर्फबाट पनि रहन्छ ।

नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर टुरिजम फेयरमा जाने काम चाहीँ भएको छ । २०२३ को लागि नेपाली फुडलाई कसरी अगाडि बढाउने र नेपाली खाना नै विदेशीलाइ पकाउन सिकाएर नेपाली फुडलाई प्रमोसन गर्ने सोच बनाएको छु । होटलको साइडमा (म्याजेस्टिक होटल, ठमेल) स्पा सहित यो चाहीँ ओपनिङ गर्ने तयारीमा छु । जसले नेपाली फुडको मात्र प्रमोसन नभएर नेपालको फुडसँग लोभिएर पर्यटकको संख्या बढ्ने छ ।

सुनिल बहादुर भट्टराई, अध्यक्ष– नेपाल हवाई खेलकुद संघ

बिजनेसको हिसावले प्याराग्लाइडिङको त्यति चाप भएन । कोरोना महामारीबाट थलिएको साहसिक पर्यटनलाई केही सघाउ भने पुग्यो । २०२२ को अन्तिमतीर भने प्याराग्लाइडिङ व्यवसायका लागि केहि खुसीको खबर प्राप्त भयो ।

अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि पोखराको प्याराग्लाइडिङ हट्ने हल्लाका बीच पोखरामै कायम हुने खबरले भने हामी सबैलाई खुसी दिलायो । जनवरीबाट पोखराको प्याराग्लाइडिङ अन्यत्र सार्ने भनिएको भएपनि सबैको सल्लाह मान्दै क्यानले पोखरा आसपासमै कायम राखेको छ ।

यो पोखराबाट हट्ने हल्लाले २०/२२ वर्षदेखि पोखराकै गहनाका रुपमा रहेको प्याराग्लाइडिङ उडान बन्द हुने कि भन्ने थियो, तर पोखरा महानगर, हामी व्यवसायीको मागको सम्बोधन भएको छ । यसले २०२२ मा विजनेश नभएपनि अब २०२३ मा बढ्ने अनुमान गर्न सकिन्छ ।

१७ पुष २०७९