पदमार्गमा पहिरो, पर्यटकलाई सास्ती


टुरिजम पाना काठमाडौं । १७ भाद्र २०८०
फाइल फोटो

शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र धारापानी पुग्ने पदमार्गमा पहिरो जाँदा पर्यटकले सास्ती खेप्नुपरेको छ। चार महिनाअघि निर्माण पूरा भएको पदमार्गको ठाउँ–ठाउँमा पहिरो गएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छ लाख ५० हजार रूपैयाँ लागतमा छनोटमा परेका १५ जना बेरोजगार व्यक्तिलाई परिचालन गरी एक हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको थियो। पदमार्गमा माटो समस्याउने कार्यसँगै ढुंगा बिछ्याइएको थियो।

पहिराले पदमार्गको ८० प्रतिशत क्षेत्र तहसनहस पारेको स्थानीय बासिन्दा साइमले धामीले बताए।

‘पदमार्ग हुँदै सहज रूपमा पर्यटक पुग्ने गरेका थिए,’ उनले भने, ‘हाल पदमार्गमा पहिरो जाँदा थोरै मात्रै पर्यटक आइपुग्ने गरेका छन्।’

पर्यटक नआउँदा व्यापार–व्यवसाय ठप्प रहेको उनले जानकारी दिए। पहिरोले गर्दा पर्यटकीय क्षेत्र धारापानी, बतासे झर्ना, दन्तेगुफा लगायतको क्षेत्रमा पुग्नै नसकिने अवस्था छ।

पदमार्ग निर्माण भएको क्षेत्रमा विगतका वर्षहरूमा सडक निर्माण गर्न ट्र्याक खोलिए पनि निरन्तर पहिरो जाने र पानी चुहिने हुँदा निर्माण कार्य अगाडि बढाउन सकिएको थिएन। ट्र्याक खोलिएकै सडकलाई पदमार्गका रूपमा परिणत गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

‘पर्यटकलाई गन्तव्यमा सहज रूपमा पुग्न पदमार्ग बनाएका थियौं,’ उनले भने, ‘पहिरोले पदमार्ग भत्काउँदा निकै तनावमा छौं। थोरै बजेटले पहिरो रोकथाम गर्न सकिँदैन। पानी चुहिने हुने क्षेत्रमा टेवा पर्खाल बनाउन सकिए पहिरो रोकथाम गर्न सकिन्छ। त्यसका लागि ठूलै बजेट चाहिन्छ।’

स्थानीयका अनुसार पदमार्ग निर्माण भएपछि ढुक्कसँग गाउँसम्म पुग्न सकिने भएको थियो। पहिरोले पदमार्ग नै लगेपछि दैनिक चाहिने सामान खरिद गर्न पनि सास्ती खेप्नुपरेको छ। धारापानी गाउँसम्म पुग्ने बाटो त्यही पदमार्ग थियो। त्यो नै पूरै भत्किएपछि जोखिम मोलेर ओहोरदोहोर गर्दै आइरहेको उनीहरू बताउँछन्।

बालबालिकालाई विद्यालय पुर्‍याउन नसकेर घरमै बस्दै आएको समेत उनीहरूको भनाइ छ।

धारापनी क्षेत्रमा तराईको गर्मी छल्न, चिसो पानीमा नुहाउन पर्यटक यस क्षेत्रमा पुग्छन्। दैनिक यस क्षेत्रमा सयदेखि दुई सयको हाराहारीमा पर्यटक पुग्ने गरेको स्थानीयवासीले बताए।

धारापानी क्षेत्रसँगै उत्तरतर्फको तीन किलोमिटरको क्षेत्रमा रहेको बतासे झरनाको मनोरम दृश्य नियाल्न र झरनामा नुहाउन पर्यटक आउने गरेका छन्। वडा कार्यालयको तर्फबाट वनभोजस्थल निर्माण गरिएको छ। हाल पदमार्ग पहिराले क्षतविक्षत भएपछि यस क्षेत्रमा नगन्य मात्रामा मात्रै पर्यटक आउने गरेका छन्। (रासस)

१७ भाद्र २०८०