पोखराको लेकसाइडमा पाँच तारे होटल बन्दै


टुरिजम पाना पाेखरा । ५ पुष २०७९
five star hotel barahi

पर्यटकीय क्षेत्र पोखराको लेकसाइड स्थित सेदी हाइटमा बाराही सेदी कम्पनीले ५ अर्ब १० करोडको लगानीमा पाँच तारे होटल बनाउन लागेको छ ।

करिब चार दशकदेखि पर्यटन व्यवसायमा सक्रिय बाराही समूहले होटल निर्माण गरिरहेको हो । यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी भएकाे बाराही समूहका निर्देशक वैभव पाैडेलले जानकारी दिए ।

दुई वर्षसम्ममा सञ्चालनमा ल्याउने योजनासहित तीव्र गतिमा निर्माण भइरहेको होटलको सेप्टेम्बरसम्ममा २५ प्रतिशत भौतिक संरचना निर्माण भएको कम्पनीले जानकारी दिएको छ ।

होटल निर्माणका लागि लगानीको ७५ प्रतिशत हिस्सा कर्जा र २५ प्रतिशत सेयरधनीहरुको सेयर हिस्सा रहेको निर्देशक पाैडेलले बताए ।

पाैडेलले दिएकाे जानकारीअनुसार ५ अर्ब २५ करोड रुपैयाँ लगानीमा बन्दै गरेको यो पाँच तारे होटलमा बाराही समूहको ५१ प्रतिशत लगानी रहेको छ भने ३९ प्रतिशत सेयर प्रोमोटर सेयरका रुपमा वितरण गरेको छ । बाँकी १० प्रतिशत सेयर सर्वसाधारणको रहनेछ ।

६३ रोपनी क्षेत्रफलमा बन्ने होटलमा १५० वटा कोठा, १० वटा सुइट, एउटा क्यासिनो र ११ वटा सर्भिस हाउसहरु हुनेछन् । साथै होटलमा अतिथि एकोमोडेसन भवन, लबी, रिसेप्सन, एक्सक्लुसिभ बार, कन्फरेन्स हल, जिम हल, स्पा, साउना पनि हुनेछन् ।

पोखरामा पाँच तारे होटल निर्माणका लागि बाराही समूह झन्डै एक दशकभन्दा बढी समयदेखि लागिपरेको कम्पनीले जनाएको छ । होटल सञ्चालनमा आए पछि पोखरामा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलनका लागि उपयुक्त गन्तव्य हुने निर्देशक पौडेलको भनाइ छ ।

५ पुष २०७९