सुदूर पश्चिमका शक्तिपीठ


टुरिजम पाना संवाददाता काठमाडौं । ४ कार्तिक २०८०

सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गाभगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ ।

भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमेदेवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ ।

मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ ।

त्रिपुरासुन्दरी (रणसैनी) भगवती

बैतडी सदरमुकाम गोठालापानी नजिकै रहेको त्रिपुरासुन्दरी बैतडीको प्रसिद्ध धार्मिक स्थल हो ।

बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी-झुलाघाट सडकखण्डमा रहेको यो मन्दिरलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एकरण्याजौं (४०माना)मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती छ ।

यो मन्दिरमा प्रत्येक औँसी, पूर्णिमा, सक्रान्ति एवं चार वटा नवरात्रिमा विशेष मेला लाग्ने पुजारी पण्डित विष्णुदत्त लेखक बताउँछन् ।

दसैँका बेला यहाँ राँगा र बोकाको बलि सहित ठुलो मेला लाग्छ । मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड राज्यका कुमाउ-गढवालका १३ जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् ।

पुरातात्वक महत्वको डिलासैनी

पुर्चौडी नगरपालिका-१०,तल्लादेहीरमल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरलाई यहाँको प्रसिद्ध मन्दिर मानिन्छ। डिलासैनी भगवती स्थानीय बोहरा जातिले प्राप्त गरेको लोकोक्तिछ । यो मन्दिर साके संवत् १२०३ मा बनेको शिला लेख छ।

पुरातात्विक दृष्टिले डिलासैनी रहेका देवलहरूको विशेष महत्व छ। यी देवलहरू पाण्डव,आद्य शङ्कराचार्य र तत्कालीन समयका राजारजौटाले निर्माण गरेको किंवदन्ती र इतिहास पाइन्छ । यस प्रकारका देवलहरू कुमाउदेखि कर्णालीसम्म पाइन्छन्। यी देवल कुनै प्रकारको काठ, फलाम, बालुवा गिट्टी प्रयोग नगरी विशेष प्रकारको ढुङ्गा काटेर (कटुवा ढुङ्गा) निर्माण गरिएका छन् ।

निङ्लासैनीमा लावड जातिको राँगा पहिलो त्यस्तै दशरथचन्द नगरपालिका-२,देहीमाण्डौमा निङ्लासैनी भगवती अवस्थित छ। किंवदन्तीअनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङ्लासैनी नाम रहेको किंवदन्ती छ । यही कारण अष्टमीका दिन बलि दिने राँगामध्ये सबैभन्दा पहिले लावड जातिको राँगा बाँध्ने चलन कायम छ । यो मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । मन्दिरमा बैतडी लगायत दार्चुला, डडेलधुरा, बझाङ, भारतको पिथौरागढ लगायतका क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् ।

मेलौलीमा काम्छन् सयौँ धामी

त्यस्तै मेलौली भगवतीको मन्दिर पनि उत्तिकै प्रसिद्ध मानिन्छ । पाटन-पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको मन्दिरसम्म पुग्न सहज भएपछि भक्तजनलाई सजिलो भएको छ । यहाँ नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन-दमाहाको बाजागाजा सहित श्वेतफेटा र बागो लगाई सुनचाँदीको गहनामा सुशोभित हातमा चमर लिएर मेलौली र उदय देवका धामीहरूले सयौँ व्यक्तिले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् ।

कफला सैनी सुर्नया तरे हुँदैन बलि
कफलासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिका-५,रौलेश्वरमा छ । यी भवानीलाई माडौँ पनि भनिन्छ । सुर्नया नदीको किनारमा रहेको मन्दिरमा बलि दिन ल्याइएका राँगा भागेर सुर्नया पारि गयो भने समातेर पुनः बलि दिन उपयुक्त मानिँदैन । सुर्नया पारि बैतडीको प्रसिद्ध सिगास धाम भएकाले नदी पारि पुगेको राँगालाई ल्याएर पुनः बलि दिन हुन्न भन्ने धार्मिक मान्यता छ ।

कपडाको पोकोमा प्राप्त पोटलासैनी

पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोको भित्र प्राप्त भएकाले पोटलासैनी नाम रहन गएको मानिन्छ। पोटलासैनी भगवतीलाई पञ्चेश्वर गाउँपालिकास्थित रोडी गाउँका भण्डारी जातिले कुलदेवीका रूपमा पूजा गर्ने गरेका छन् ।

पूजा नहुने भगवती बिजासैनी
बिजासैनीको कहिल्यै पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रूपमा रहेकी छन् । बिजासैनीको पूजा नहुने भएकाले बैतडीमा कहीँ कतैपनि बिजासैनीको मन्दिर निर्माण भएको छैन ।

नाटेश्वरी र बडीमालिका दिदीबहिनी

कात्तिक अष्टमीका दिनमा बाजुराका विभिन्न शक्तिपीठमा बलि सहित विशेष पूजा गरिन्छ । सबैभन्दा बढी बलि त्रिवेणी नगरपालिका-८ मा रहेको नाटेश्वरी मन्दिरमा चढाइन्छ। नाटेश्वरी मन्दिरमा कात्तिक अष्टमीमा हजारौँ बोकाको बलि दिइने गरेको यहाँका पुजारी प्रभतबहादुर शाहीले बताए। बाजुराको बडीमालिका देवी र नाटेश्वरी माई दुई बहिनी मानिन्छ । बडीमालिकामा जनै पूर्णिमाका दिन मेला लाग्छ भने नाटेश्वरीमा माघ बाहेक प्रत्येक महिना पूजा हुने गरेको पुजारी शाहीले बताए । बडीमालिका माईले बलि लिँदिनन् । यहाँ चामल, दुध र नरिवल मात्र चढाइने गरेको शाहीले बताए। यस्तै स्वामि कार्तिक बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको कालिका र बुढी गङ्गा नगरपालिका-४को बार्जुकोटमा अष्टमी, नवमी र दशमीका दिन विशेष पूजा हुने कालिका मन्दिरका पुजारी गोविन्द मल्लले बताए।

राँगा दौडाएर बलि दिने प्रचलन

अछामको तिमिल्सैनमा रहेको मङ्गलासैनी मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनमा सयौँ राँगा बोकाको बलिदिएर दसैँ मनाइन्छ । आफूले गरेको भाकल पूरा भएपछि मन्दिरमा सङ्कल्प पछि राँगालाई दौडाएर काट्ने प्रचलन छ । विसं १९६२ मा स्थापना गरिएको मन्दिरमा पशु बलिसँगै रातमा मेला लाग्छ । यहाँ बलि चढाएमा गाउँमा पशु रोग मुक्त हुने विश्वास गरिँदै आएको स्थानीय जानकार तिलक बहादुर खत्री बताउँछन्।

त्यस्तै मङ्गलसेनको सान्नीकोट र षोड्शा मन्दिर, तिमिल्सैनको सैनगडा, मार्कुको सान्नीकोट, वारलाको तिखापातलमा दसैँमा पूजाआजासहित बलि दिइने प्रचलन छ । गोरखापत्रबाट साभार

४ कार्तिक २०८०